२०८१ बैशाख २१, शुक्रबार    

जिल्ला प्रहरीमा स्मार्ट कन्ट्रोल रुम

२०८० जेठ ३१, बुधबार ११:४२ बजे

जनगुनासोको सम्बोधन तत्काल गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ ।

प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्य गर्ने गरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमक्ो उदघाटन गरेका हुन् ।

स्मार्ट कन्ट्रोल रुम उद्घाटन गर्दै उपरीक्षक गौतमले फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने दावी गरे । सूचना प्रविधिको पहुँचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुग्ने उनले बताए ।

प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित सेवाको सुरुवात गरिएको बताए । केही दिनमा यससँग सम्बन्धीत एपबाट थप सेवा सुरु गरिने उनले बताए । प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा जानकारी गराएका थिए ।

प्रहरी निरीक्षक केसी काठमाडौं प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवात गरिएको बताए ।