२०८१ बैशाख २३, आईतबार    

अजेयराज सुमार्गीद्वारा वुवाको स्मृतिमा एम्बुलेन्स सहयोग

२०७८ चैत्र ८, मंगलबार १९:१७ बजे

नेपालका प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गीले आफ्नो वुवाको स्मृतिमा एम्बुलेन्स सहयोगस्वरुप हस्तान्तरण गरेका छन् ।

माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजेयराज सुमार्गीले मनहरी–१, चकरीमा रहेको श्री शान्ति स्वलम्वन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स हस्तान्तरण गर्दै सुमार्गीले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । ‘सुमार्गी परिवारले देशभर नै सामाजिक कार्य गरिरहेको छ । यस स्थानलाई आवश्यक अन्य सहयोग आगामी दिनमा पनि जारी राख्ने छौं ।’, उनले भने ।

सुमार्गी र आमा विश्वकान्ति कलावतीले सहकारीका अध्यक्ष विष्णु अधिकारी र वडा अध्यक्ष शिवप्रसाद खनाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । स्थानीयले वडा अध्यक्ष खनालको पहलमा एम्बुलेन्स प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए । हेटौंडा बजारबाट नजिकै रहेपनि सडक पूर्वाधारको अवस्था कमजोरहुँदा त्यसक्षेत्रका स्थानीयलाई विरामी पर्दा हेटौंडा आउजाउमा समस्या रहँदै आएको थियो ।

‘यहाँका मानिस विरामीहुँदा अटोमा ल्याउने लैजाने गर्नुपर्ने अवस्था थियो । अब त्यो समस्या हट्यो ।’, सहकारीका अध्यक्ष अधिकारीले एम्बुलेन्स सञ्चालनका लागि स्थानीय तह र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गी, समाजसेवी अस्मिता सुमार्गी, अंकिता सुमार्गी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, कांग्रेस मकवानपुर पूर्वसभापति रामचन्द्र अर्याल माइकल, निर्माण व्यवसायी महासंघ पूर्वकेन्द्रीय सदस्य जयराम लामिछानेलगायतको उपस्थिति रहेको थियो ।