२०८१ बैशाख १६, आईतबार    

एपीएफले जित्यो महिला भलिबलको उपाधि

२०८० पौष १६, सोमबार १७:२८ बजे

राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८० उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।

सोमबार हेटौंडामा भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड क्लबलाई ३–१ सेटले पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो । विजेता सशस्त्रले उपाधिसहित २ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख रुपैयाँ प्राप्त गरेको हो ।

विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले ट्रफी हस्तान्तरण गरेकी थिइन् । प्रतियोगितामा एपीएफले अपराजित यात्रालाई कायम राख्दै उपाधी जितेको हो । समूह चरणको खेलमा न्यू डायमण्ड एपीएफसँग २–३ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा तीन विभागीय टोली र घरेलु टोली छहारी युवा क्लबसहित ५ टिमको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता भएको हो ।