२०८१ बैशाख ७, शुक्रबार    

प्रदेश संसदीय दल नेता बन्न दौडधुप

२०७९ मंसिर २९, बिहीबार ११:५६ बजे

प्रदेशमा सत्ता समीकरणको स्पष्ट चित्र नआउँदै मुख्यमन्त्रीका आकांक्षीले संसदीय दलको नेता बन्न दौडधुप सुरु गरेका छन् । बहुमत जुटे मुख्यमन्त्री बन्न सकिने, त्यो सम्भव नभए संसदीय दल नेताको सुविधा लिने मनसायका साथ उनीहरूले सम्बन्धित दलभित्र कसरत थालेका हुन् ।

वाग्मती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँले संसदीय दलको नेता बन्ने प्रयास गरिरहेका छन् । संस्थापन समूहमा रहेका उनी पार्टीका प्रदेश सभापति र पूर्वगृह राज्यमन्त्रीसमेत हुन् । अघिल्लो कार्यकालको अन्त्यमा सत्ता गठबन्धनले मुख्यमन्त्री दिने लिखित सहमति गरे पनि कार्यान्वयन नभएको उनको गुनासो छ । तर बानियाँलाई नुवाकोटबाट निर्वाचित सांसद बहादुरसिंह लामाले संसदीय दलको नेतामा चुनौती दिएका छन् । ‘म अघिल्लै कार्यकालमा मुख्यमन्त्री हुनुपर्ने थियो तर सहमति कार्यान्वयन भएन,’ बानियाँले भने, ‘यस पटक वाग्मतीमा ममाथि धोका हुनेछैन भन्ने विश्वासमा छु ।’

माओवादी केन्द्रमा हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल संसदीय दलको नेता बन्ने प्रयासमा छन् । उनले पनि आफूलाई मुख्यमन्त्रीको दाबेदार बताउने गरेका छन् । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न खोजेका उनलाई सत्ता गठबन्धनले प्रदेशसभामा टिकट दिएको थियो । उनी लड्न चाहेको धादिङ १ मा मुख्यमन्त्रीमेत रहेका एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार थिए ।

वाग्मतीमा एमालेबाट केन्द्रीय सदस्य जगनाथ थपलिया संसदीय दलको नेताका दाबेदार हुन् । मुख्यमन्त्रीको दाबीसहित चुनाव लडेका पूर्वसभामुख सानु श्रेष्ठ र पूर्वमन्त्री रामेश्वर फुयाल पराजित भएपछि थपलिया दलको नेता बन्ने सम्भावना बलियो बनेको छ ।