२०८१ बैशाख १७, सोमबार    

सर्वदलीय बैठकमा मुख्यमन्त्री र एमालेबिच चर्काचर्की

२०८० मंसिर १७, आईतबार २१:०१ बजे

बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । बैठक मुख्यमन्त्री शालिकराम जम्कट्टेलको चाहना अनुसार आइतबार प्रदेशसभा सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा बसेको थियो ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वानका लागि सभामुख पाठकलाई अनुरोध गरेका थिए । सोही अनुसार सभामुख पाठकको कार्यकक्षमा सर्वदलीय बैठक बसेको थियो ।

छलफल सुरु हुनासाथ विपक्षी दलहरूले सरकारले आफूसँग गरेका सहमति कार्यान्वयनको माग गरेपछि विवादको स्थिति बनेको थियो । सहमति कार्यान्वयनको चरणमा नगएसम्म अन्य विषयमा छलफल हुन नसक्ने अडान एमाले र राप्रपाले राखेपछि मुख्यमन्त्री जम्कट्टेलले बजेटका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले उक्त पत्र बैठकमा उपस्थित सबैलाई उपलब्धसमेत गराएका थिए । उनले सरकारको समस्यालाई बुझिदिन र सहमतिमा आउन आग्रह गर्दै भएकै योजनामा बजेट माग गर्न प्रतिपक्षलाई आग्रह गरे ।

तर, विपक्षी दलका नेता तथा सांसदहरू उनको कुरामा सकारात्मक देखिएनन् । उनीहरूले सरकारले गरेको त्रुटिपूर्ण काम सच्याउनु पर्ने भन्दै आफ्नो अडान कायमै राखे ।

अख्तियारको पत्र देखाउँदा पनि प्रतिपक्षी दलले समस्या बुझ्न नसकेको भन्दै मुख्यमन्त्री जम्कट्टेल रिसाएर प्रस्तुत भए । उनको प्रस्तुतिपछि विपक्षी दलहरू झन् कडा रूपमा प्रस्तुत भएका थिए । सहमति जुट्ने नदेखेपछि मुख्यमन्त्री जम्कट्टेल बैठकबाट बाहिरिएका थिए ।