२०८१ बैशाख १५, शनिबार    

मेयर लामाद्वारा नगर विकास कोषमा सपथ

२०७९ श्रावण १०, मंगलबार १८:५६ बजे

हेटौंडा नगर मेयर मीनाकुमारी लामाले नगर विकास कोषको पहिलो बैठकमा सहभागितासहित सपथ लिएकी छन् । मंगलबार काठमाडौंमा उनले सपथ लिएकी हुन् । नगर विकास कोष सञ्चालक समितिको २०३ औं बैठकमा उनी सहभागी भएकी हुन् ।

बैठकमा कोषका सञ्चालक समितिका सदस्यहरुको स्वागत तथा सपथग्रहण र निवर्तमान सदस्यहरुको बिदाइ गरिएको थियो । कोषको आव २०७९÷०८० को नीत, कार्यक्रम तथा तयारी उपसमिति गठन गरिएको छ । कोषका सञ्चालकहरुमा पोखराका मेयर धनराज आचार्य, हेटौंडाकी मेयर लामा, सूर्योदय नगर इलामका मेयर रणबहादुर राई, लमही नगर दाङका मेयर जोगराज चौधरी, बौधीमाई नगर रौतहटका मेयर प्रदीपकुमार यादब, लम्कीचुहा नगर कैलालीकी मेयर सुशीला शाहीलगायत १४ जना छन् । सहरहरुलाई सुन्दर र सफा बनाउने योजनासहित करिब ३ दशकअघि परिकल्पना गरिएको नगर विकास कोष आफ्नै हिसाबले काम गरिरहेको छ । सन् १९८९ मा विश्व बैंकको २.२ मिलियन अमेरिकी डलर सहयोग प्राप्तिस“गै नगर विकास कोषले सहरी पूर्वाधार विकासमा वित्तीय लगानी प्रवाह गर्न थालेको थियो ।