२०८१ श्रावण ९, बुधबार    

वाग्मती प्रदेश सरकारबाट एमाले बाहिरियो

२०८१ असार २४, सोमबार १२:३० बजे

नेकपा एमालेले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमालेबाट प्रदेशमा मन्त्री बनेकाहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा पत्र बुझाएका छन् । उनीहरुले राजीनामासँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी गराएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।

उनीहरुले सरकार अल्पमतमा परिसकेको बताउँदै मार्ग प्रशस्त गर्न समेत मुख्यमन्त्रीलाई सुझाएका छन् ।

राजीनामा पछि एमालेले नयाँ गठबन्धन अनुसार कांग्रेससँगको गठबन्धनमा सरकार गठनको तयारी गर्ने जनाएको छ ।