२०८१ बैशाख १४, शुक्रबार    

आज बजेट ल्याउँदै मकवानपुरका पालिका

२०७९ असार १०, शुक्रबार १०:१२ बजे

मकवानपुरका स्थानीय तहहरुले आज शुक्रबार आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटा गाउँपालिकाले बजेट ल्याउन लागेका हुन् । अधिकांश स्थानीय तहले बिहीवार नै बजेटको तयारी सकाएका छन् । पालिकाहरुले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् । जिल्लास्थित १० पालिकामध्ये सबैभन्दा ठूलो आकारको बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याउँदै छ । हेटौंडाले साढे २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।

गत मंगलबार बसेको कार्यपालिका बैठकले १० गतेलाई नगरसभा बोलाउँदै नीति तथा कार्यक्रम पारित गरिसकेको छ । हेटौंडाले करिब २ अर्ब ७० करोडको बजेट ल्याउने तयारी गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उपमहानगरले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेको न्यौपानेले बताए । हेटौंडापछि थाहा नगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याउँदै छ । थाहा नगरपालिकाले करिब १ अर्ब ८ करोडको बजेट ल्याउने तयारी गरेको हो । थाहा नगरले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट ल्याउने नगर प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिकाले ६७ करोड ४४ लाख २२ हजार रुपैयाँको बजेट ल्याउन लागेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । कृषि क्षेत्रमा जिल्लामै उल्लेखनीय काम गरेको मकवानपुरगढीले पूर्वाधार विकाससँगै, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी गरेको उनले बताए । जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाले ५५ देखि ६० करोडको बजेट ल्याउने तयारी गरेको छ । राक्सिराङले पनि बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
राक्सिराङले चट्याङबाट बच्न अर्थिङ राख्न र स्वास्थ्य बीमामा ७५ प्रतिशत अनुदान दिने गरी बजेट ल्याउन लागेको छ । राक्सिराङमा धेरै चट्याङका कारण जनधनको क्षति हुने गरेको तथ्यांक छ ।

गरिबीका कारण अधिकांश गाउँबासी स्वास्थ्य सेवाबाट बञ्चित भएकाले पालिकाले स्वास्थ्य बीमा अनुदान कार्यक्रम ल्याउन लागेको हो । गाउँबासीलाई उत्पादनमा जोड्न कृषि तथा पशुपालनमा पनि अनुदान कार्यक्रम ल्याउन लागेको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए । बकैया गाउँपालिकाले ७५ करोडको बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । उनले पूर्वाधार विकास, कृषि, शिक्षा र स्वास्थ्यमा प्राथमिकतामा दिएर बजेट ल्याउन लागेको बताए । विकट कैलाश गाउँपालिकाले करिब ५२ करोडको बजेट ल्याउने तयारी गरेको छ । कैलाशले भौतिक पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको जनाइएको छ । भिमफेदी गाउँपालिकाले करिब ७० करोडको बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । भिमफेदीले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिमा प्राथमिकता दिएर बजेट ल्याउने भएको हो ।

यसैगरी, जिल्लाको पूर्व क्षेत्रस्थित बागमती, मनहरी र इन्द्रसरोबर गाउँपालिकाले पनि आज शुक्रबार बजेट ल्याउने तयारी गरेका छन् । तर, यी पालिकाका जनप्रतिनिधिदेखि प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क हुन नसक्दा विवरण प्राप्त भएन् । मकवानपुरका कतिपय पालिकाहरुले चालू आर्थिक वर्ष २०७८÷०७९ को भन्दा आकार बढाएर बजेट ल्याउँदै छन् भने केहीले घटाएर बजेट सार्वजनिक गर्दैछन् । मकवानपुरले चालूको भन्दा बजेट घटाएर ल्याउँदैछ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकालगायतले बजेटको आकार बढाउँदै छन् । ३० वैशाखमा स्थानीय तह निर्वाचनले अधिकांश पालिकामा नयाँ अनुहारका जनप्रतिनिधि आएकाले आज आउने बजेटप्रति जनचासो बढेको छ ।