२०८१ बैशाख २०, बिहीबार    

अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदा प्रमुख जवाहिरी

२०७९ श्रावण १७, मंगलबार १०:४५ बजे

अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ । 

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले एक भिडियो जारी गर्दै अमेरिकाको गुप्तचर विभाग सीआईएले गरेको ड्रोन हमलामा उनको मृत्यु भएको पुष्टि गरेका हुन् । सीआईएले अफगानिस्तानको राजधानी काबुलमा गरेको आतंकवाद विरोधी हमलामा जवाहिरीको मृत्यु भएको हो । सीआईएले ड्रोनमार्फत दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

अमेरिकी नागरिकको हत्या र हिंसाको रगतले जवाहिरीको हात रङ्गिएको बताउँदै राष्ट्रपति बाइडेनले उनको मृत्युसँगै अमेरिकी नागरिकलाई न्याय मिलेको बताए । जवाहिरी सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी हमलाको मुख्य योजनाकारमध्ये एक रहेको अमेरिकाले दाबी गर्दै आएको छ । सन् २००१ मा भएको हमलामा करिब ३ हजार अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

जवाहिरी अफगानिस्तानको काबुलस्थित एक घरको बरन्डामा रहेको बेला ड्रोन हमला भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । घरमा रहेका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ ।

सन् २०११ मा अलकायदाका पूर्वप्रमुख ओसामा बिन लादेनको मृत्युपछि अलकायदाको मुख्य जिम्मेवारी जवाहरीले सम्हाल्दै आएका थिए । अमेरिकास्थित ह्वाइटहाउसबाट जारी एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले भनेका छन्‚ ‘हामीले आज यो कुरा प्रमाणित गरिदिएका छौं कि जति नै लामो समय लुकेर बसेको किन नहोस्‚ जुनकुनै ठाउँमा लुकेको किन नहोस्; यदि हाम्रा नागरिकको डरको कारण बनिरहेको छ भने त्यसलाई हामी पत्ता लगाएरै छाड्छौं ।’