२०८१ बैशाख ३०, आईतबार    

हेटौंडाबाट गोरुको अवैध तस्करी, ललितपुर बसेर हेटौंडामा प्रमाणपत्र जारी

२०७९ कार्तिक ६, आईतबार १२:१४ बजे

हेटौंडाको एउटा फर्मले सरकारी पशु चिकित्ससँगको साँठगाँठको फाइदा उठाउँदै गोरुको अवैध तस्करी गरिरहेको खुलेको छ ।युनिसा सप्लायर्स, हेटौंडाको नाममा २२ गोरु अवैध रुपमा ओसारपसार भइरहेको खुलेको हो । सरकारले पशु ढुवानीलाई व्यवस्थित बनाउन पशु ढुवानी मापदण्ड, २०६४ जारी गरेको छ । जारी मापदण्डअनुुसार पशु चिकित्सकले जारी गरेको भेटेरिनरी प्रमाणपत्रको आधारमा मात्र पशुपन्छी ढुवानी गर्नुपर्ने प्रावधान छ ।‘पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर मात्र स्वस्थ रहे÷नरहेको प्रमाणपत्र जारी गर्नुपर्छ,’ मापदण्डमा भनिएको छ । तर, युनिसा सप्लायर्सले नक्कली प्रमाणपत्र बनाएर गोरुको ओसारपसार गर्न खोजेको फेला परेको हो ।

गत ३० असोजमा हेटौंडाबाट ट्रकमा झापा लान लागिएको २२ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएपछि अवैध रुपमा काम भइरहेको तथ्य बाहिरिएको हो । मकवानपुरमा हाल कार्यरत् नभएका पूर्व चिकित्सकको हस्ताक्षरमा जारी भएको प्रमाणपत्रले पशुचौपायाको ओसारपसार भइरहेको खुलासा भएको छ ।भेटेरिनरी प्रमाणपत्र पशु चिकित्सकले परीक्षणका क्रममा पशु स्वस्थ भेटिएको स्थितिमा मात्रै जारी गनुपर्ने हुन्छ । तर, ललितपुरमा बसेर हेटौंडामा जाँच गराइएको प्रमाणपत्र दिएर एक चिकित्सकले व्यापारीसँगको मिलेमतोमा गम्भीर त्रुटि गरेका छन् । पशुचौपाया एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्नका लागि पशु जाँचपछि स्वस्थ रहे÷नरहेको प्रमाणपत्र जारी हुने गर्छ । तर, पशुको स्वास्थ्य जाँच नै नगरी भटाभट प्रमाणपत्र जारी भएको खुलेको हो । मापदण्डविपरित प्रमाण जारी गर्ने सरकारी चिकित्सक हुन् एनबिसी नम्बर २ सय ३८ भएका डा. रामप्रकाश प्रधान ।

प्रधान, ललितपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुन् । त्यसअघि उनी मकवानपुरको भेटेरिनरी अस्पतालका प्रमुख र प्रदेश पशुपन्छी निर्देशनालयका निमित्त निर्देशक थिए । मकवानपुरबाट सरुवा भएको करिब ८ महिनापछि पनि प्रधानले हेटौंडाबाट प्रमाणपत्र जारी गर्ने गरेको भेटिएको हो ।प्रधानले मापदण्डको धज्जी उडाउँदै ललितपुरमा बसेर हेटौंडाको फार्मलाई भेटेरिनरी प्रमाणपत्र जारी गरेका हुन् । जब की हेटौंडामा भेटेरिनरी प्रमाणपत्र जारी गर्ने भेटेरिनरी अस्पतालका प्रमुख डा. बज्रकिशोर ठाकुर छन् । तर, ठाकुरले जारी गरेको प्रमाणपत्र व्यापारीलाई आवश्यक नै परेको छैन । ३० असोजमा जारी भएको भेटेरिनरी प्रमाणपत्रमा प्रधानको हस्ताक्षर रहेको छ । युनिसा सप्लायर्स, हेटौंडाका २२ गोरु स्वस्थ रहेको उल्लेख गर्दै ललितपुर बसेर प्रधानले ढुवानीको अनुमति दिएका छन् ।

पशुपन्छी ढुवानी मापदण्डको दफा १७ मा सवारीसाधनमा पशु ढुवानी गर्दा छुट्याइनुपर्ने स्थानबारे उल्लेख छ । मापदण्डअनुसार, वयस्क गाईभैंसी ढुवानी गर्दा ० दशमलव ८४ देखि १ दशमलव १७ वर्ग मिटर ठाउँ छुट्याइएको हुनुपर्छ । तर प्रधानले आफूले जारी गरेको प्रमाणपत्रमा यो पक्षलाई समेत पूरै नजरअन्दाज गरेका छन् । उनले एउटा ट्रकमा २२ गोरु ढुवानी गर्न अनुमति दिएका छन् । मापदण्ड विपरीत ढुवानी गर्न अनुमति दिएको पशुपन्छीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय, पशुपतिनगर, हेटौंडाले नियन्त्रणमा लिएको थियो ।

थप कारबाहीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, केन्द्र मकवानपुरलाई बुझाइएको थियो ।भेटेरिनरी अस्पताल मकवानपुरका प्रमुख डा. ठाकुरका अनुसार प्रधानले प्रमाणपत्रको ठेलीमा हस्ताक्षर गरेर व्यापारीलाई नै दिएको आरोप लगाए । ललितपुरमा रहेका प्रधानले भने भेटेरिनरी प्रमाणपत्रको ठेली आफ्नो झोलाबाट कतै झरेर व्यापारीहरुले प्रयोग गर्दै आइरहेको दाबी गरेका छन् । हस्ताक्षर गरेर आफूले नदिएको उनले बताए ।६ वर्षसम्म भेटेरिनरी अस्पतालको प्रमुख हुँदा आफूले अनेक भेटेरिनरी प्रमाणपत्र जारी
गरेको र तिनै प्रमाणपत्रलाई अहिले कीर्ते गरेर पशु चौपाया व्यवसायीले आफ्नो बदनाम गराएको उनको दाबी छ । प्रधान कारबाहीबाट उम्किँदै आएका छन् । प्रधानलाई सोधपुछ गर्न पशु चिकित्सा परिषद्ले बोलाए पनि उनीमाथि कारबाही भएको छैन ।