२०८१ बैशाख १७, सोमबार    

‘दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि’

२०७९ पौष १२, मंगलबार १०:३४ बजे

सबैजसो सवारी दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको निष्कर्षमा प्रहरी पुगेको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामसम्बन्धी अभियान सञ्चालन गरिरहेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले यस्तो दाबी गरेको हो ।

उपत्यककाका ३ जिल्लाबाहेक प्रदेशका १० जिल्लामा भएका सवारी दुर्घटनाको सूक्ष्म अनुसन्धान गर्दा मानवीय त्रुटिका कारण बढी सवारी दुर्घटना हुने गरेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए ।

कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० को साउनदेखि मंसिरसम्म भएका ६ सय ३९ वटा सवारी दुर्घटनाको अनुसन्धान गरेको थियो । ती दुर्घटनामा १ सय ४२ जनाको मृत्यु भएको र १ हजार ४ सय २३ जना घाइते भएका थिए । यान्त्रिक, सडक र अन्य वातावरणीय कारण पनि सवारी दुर्घटना हुने गरेको रेग्मीको भनाइ छ । उनका अनुसार सबैभन्दा बढी दुईपांग्रे सवारी (मोटरसाइकल/स्कुटर) दुर्घटनामा परेका छन् । जसको कारण तीव्र गतिमा सवारी चलाउनुरहेको पाइएको छ ।

उक्त अवधिमा विभिन्न जिल्लामा गरी १ सय ६७ वटा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने २ हजार ८ सय ४२ वटा सवारीसाधनको यान्त्रिक परीक्षण गरी मर्मत तथा सुधार गर्न लगाइएको कार्यालयको तथ्यांक छ । तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटना न्यूनीकरणका लागि मकवानपुर, सिन्धुली, चितवन, काभ्रे र धादिङमा ‘टाइम कार्ड’ लागू गरिएको पनि रेग्मीले जानकारी दिए । ‘१० जिल्लाका विभिन्न ४२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी नागरिकलाई सेवा प्रदान गरिएको छ,’ उनले भने, ‘यो ५ महिनामा ट्राफिक नियम उल्लंघनका घटनाहरूबाट ९ करोड ३१ लाख ८१ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरी राजस्व खातामा जम्मा गरिएको छ ।’

उपत्यकाबाहेक प्रदेशका १० जिल्लामा आव ०७६/७७ मा ७ सय ९३, ०७७/७८ मा १ हजार ५ सय १२ र ०७८/७९ मा १ हजार ७ सय ९८ वटा दुर्घटना भएका कार्यालयले जनाएको छ ।