२०८१ बैशाख २०, बिहीबार    

कम्युनिष्टले विकासमा पनि बार्गेनिङ्ग गरेको बानियाँको आरोप

२०७८ फाल्गुन ७, शनिबार १६:१० बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश बानियाँले कम्युनिष्ट पार्टीले विकासमा पनि बार्गेनिङ्ग गरेको गम्भीर आरोप लगाएका छन् ।

नेपाली कांग्रेस हेटौंडा–१० को वडा कार्यालय स्थापना कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बानियाँले यस्तो आरोप लगाएका हुन् । ‘कम्युनिष्टले अहिले वडा वडामा विकास चाहिएको छ भने हाम्रो पार्टी प्रवेश गर्नुस् भनेर जनतालाई दबाब दिइरहेका छन् । कम्युनिष्ट पार्टीबाट जितेकाहरु अहिले विकासमा पनि बार्गेनिङ्ग गरिरहेका छन् ।’, कांग्रेस क्षेत्रिय सभापति समेत रहेका बानियाँले भने,‘हाम्रो पार्टीले त्यस्तो गर्दैन । हामी विकासमा जनतासँग हातेमालो गरेर अगाडि बढ्न चाहान्छौं ।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको वडामा धेरै विकास भएको नेता बानियाँको दावी थियो । ‘कम्युनिष्टले जितेको वडाको तुलनामा कांग्रेसले जितेको स्थानमा धेरै विकास भएको छ । अब कम्युनिष्ट कस्तो चरित्रको हुन्छन् भनेर जनताले चिनिसकेका छन् । अबको स्थानीय चुनावमा कांग्रेस विजयी भएको खण्डमा विकास मूल फुट्नेछ ।’, उनले भने ।