हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरमा संस्थापन अर्थात सभापति शेरबहादुर देउवा समूह बलियो रहेको छ । जिल्ला अधिवेशन सुरु हुन मात्र दुईदिन बाँकी रहेको अवस्थामा संस्थापन पक्षबाट तीनजनाले दावेदारी प्रस्तुत गरिरहेका छन् ।
कांग्रेस जिल्ला कार्यवाहक सभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा र पूर्वसचिव आनन्दराम पराजुलीले सभापतिमा आकांक्ष व्यक्त गरेका छन् । लामा र पराजुलीले उम्मेदवारी घोषणा नै गरेर मत मागिरहेका छन् भने लामिछाने मौन बसेका छन् । लामिछाने सर्वसम्मत भएको खण्डमा संस्थापन एकल उम्मेदवार बन्ने दाउमा रहेका छन् भने अन्य दुईजना एक्लाएक्लै निर्वाचनमा होमिने तयारी गरिरहेका छन् ।
संस्थापन पक्ष तितरवितर भएपछि सर्वसम्मतरुपमा एउटा उमेदवार तय गर्न गरिएको प्रयास पनि असफल भएको छ । शुक्रबार विहान कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको हेटौंडा–२ स्थित निवासमा कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँसहित बसेको वैठक निष्कर्षविहीन भएको हो । वैठकमा कांग्रेस कार्यवाहक सभापति लामिछानेको पक्षमा सहमति नजुटेपछि लामा र पराजुलीलाई सहमित गरेर एकजनाको नाम अगाडि सार्न डीना र बानियाँले आग्रह गरेका थिए ।
‘संस्थापन पक्षबाट एउटा मात्रै उम्मेदवार तय हुने निश्चित छ । उम्मेदवारी दर्ता गर्दासम्म हामी तीनमध्येबाट एकजना उम्मेदवार हुने निश्चित छ ।’, कांग्रेस कार्यवाहक सभापति लामिछानेले भने । स्रोतका अनुसार संस्थापन पक्षबाट एकल उम्मेदवार बनेको खण्डमा सभापतिमा निर्वाचित हुने भन्दै पराजुली र लामा आक्रमक रुपमा क्षेत्रीय प्रतिनिधिसँग मत माग्न व्यस्त छन् ।
‘स्थानीय तह र संसदीय चुनाव नजिकिएको छ । त्यसकारण संस्थापन पक्षमा सहमति गर्नैपर्ने दबाब रहेको छ ।’, स्रोतका अनुसार वैठकमा संस्थापनबाट धेरै उम्मेदवार भएको खण्डमा पदाधिकारीमा इतर समूहका उम्मेदवारले बाजी मार्नेभन्दै यस विषयमा चनाखो हुन समेत तीनैजनालाई सुझाइएको थियो ।
जिल्लामा कांग्रेसको प्रभाव बढ्दो अवस्थामा रहेका कारण नेतृत्वमा आफू पुग्नुपर्ने दावी उनीहरुको रहेको छ ।