२०८१ बैशाख १७, सोमबार    

प्रदेशसभाका संरचना बनाउन साढे २ करोड खर्च

२०७९ मंसिर २७, मंगलबार ०८:३९ बजे

प्रदेशसभाको नयाँ अधिवेशन सञ्चालन गर्न करिब २ करोड ६० लाख रुपैयाँ खर्चेर विभिन्न संरचना निर्माण, मर्मत तथा रङरोगन गरिएको छ ।

प्रदेशसभा सचिवालयभित्र ६ कोठाको संसदीय समिति कक्ष निर्माण गरिएको छ, जसमा २ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । ४० लाख ६१ हजार रुपैयाँ लगानीमा चमेना गृह निर्माण तथा करिब ७ लाख रुपैयाँ खर्चेर प्रदेशसभा भवनको मर्मत र रङरोगन गरिएको सचिवालय सचिव कृष्णहरि खड्काले जनाए । ‘सभामुख र उपसभामुखको कार्यकक्ष तथा आवास गृहसमेत तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘योसँगै भौतिक पूर्वाधार निर्माण कार्य पूर्णरूपमा सकिएको छ ।’

प्रदेशसभा र संसदीय समितिका बैठकहरू अब सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘हामीसँग उपलब्ध सीमित भौतिक पूर्वाधारबाटै अधिवेशनको तयारी गरेका हौं,’ उनले भने, ‘मुलुकका ७ वटै प्रदेशसभा भवनमध्ये हामी असाध्यै कमजोर अवस्थामा छौं । नयाँ सभाहल निर्माण नभएका कारण यस्तो अवस्था सिर्जना भएको हो ।’ नयाँ सभाहलमा बैठक राख्न अझै एक वर्ष कुर्नुपर्ने अवस्था रहेको उनले बताए ।

यसपटक वाग्मती प्रदेशसभामा ७ दलको प्रतिनिधित्व रहनेछ । कांग्रेस, एमाले र माओवादीलाई छुट्टाछुट्टै संसदीय दलको कार्यालय उपलब्ध गराइने र साना दलहरू एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीलाई एउटै संसदीय दलको कार्यालय उपलब्ध गराइने प्रदेशसभा सचिवालयले जनाएको छ ।