२०८१ बैशाख १५, शनिबार    

उपमहानगरको पहिलो लक्ष्य सुशासन : उपमेयर बानियाँ

२०७९ पौष २४, आईतबार १६:१९ बजे

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आफूहरु सुशासनको दिशातर्फ अग्रसर भइरहेको बताएका छन् । उनले भद्रगोल अवस्थामा रहेको उपमहानगरलाई क्रमश ः पारदर्शीता र सुशासनतर्फ लैजाने काम भइरहेको दावी गरेका हुन् ।

उपमहानगरको आयोजनामा कर्मचारीहरुको लागि आयोजना गरेको सुशासन तथा संस्थागत विश्लेषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उपमेयर बानियाँले कर्मचारीलाई जनमुखी भएर काम गर्न निर्देशन दिएका छन् । ‘हामी पाँच बर्षका लागि निर्वाचित भएर आएका हौं । कर्मचारी साथीहरु उमेर हदसम्म रहनुहुन्छ त्यसैले आफ्नो क्षमता अनुसार काम गर्न जरुरी छ ।’, उनले भने,‘भविष्यमा उपमहानगरलाई सुन्दर र सक्षम बनाउन तपाईंहरुको भूमिका महत्वपूर्ण रहेको छ । कानुनको परिधिभित्र रहेर सुशासन कायम गर्दै विकासमा जोड दिन आग्रह गर्दछु ।’

हेटौंडा वाग्मती प्रदेशको स्थायी राजधानी भएका कारण सोही अनुसारको विकास गर्नु र जनतालाई महसुस गराउन जरुरी रहेको उनले औंल्याए । ‘हाम्रो महत्वपूर्ण समय तालिममा खर्च भएको छ । तालिममा सिकेको विषय कार्यान्वयनमा जावस् ।’, उनले भने ।

चन्द्रकान्त अधिकारीद्वारा प्रशिक्षित कार्यक्रममा संस्थागत विकास तथा सेवा प्रवाह समितिका संयोजक सुनिल मोक्तानको सभाध्यक्षता तथा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको आतिथ्यता रहेको थियो । तालिममा उपमहानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखसहित कर्मचारीहरुको उपस्थिति थियो ।

समापन समारोहमा सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, महिला तथा बालवालिका महाशाखा प्रमुख बिष्णु लामिछानेले मन्तव्य व्यक्त गरेका थिए ।