२०८१ जेठ १, मंगलबार    

वैदेशिक रोजगारको बाहानमा ठगी धन्दा

२०७९ असार १४, मंगलबार ११:५७ बजे

विदेश जान चाहनेहरुलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाहरुको परिवारलाई वित्तिय शिक्षा तथा मनोसामाजिक परामर्श, र वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट सूचना तथा अनुभव आदन प्रदानको लागि यो परियोजनाले समुदायस्तरका काम गर्ने गरेको छ ।

वैदेशिक रोजगारको बाहानमा ठगी धन्दा चुनौतिको रुपमा रहेको पाइएको छ । बढ्दो बेरोजगारीलाई अवसरको रुपमा प्रयोग गर्दा सर्वसाधारणहरुलाई ठगी गर्नेहरुको कारण समस्या बढ्दो रहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।

पछिल्लो समय ठगीको केसहरु बढी आउन थालेको र यसबाट पीडितलाई न्याय दिलाउन समेत कठिनायी भएको आप्रवासी स्रोत केन्द्र ९सामी० परियोजा संयोजक अन्जिता थापा मगरले बताइन् । उनका अनुसार हालसम्म २४ वटा उजुरी परेका छन् । ठगिनु अघि दुबैपक्षले सबैकाम गोप्य ढंगले गर्ने र ठगिएपछि पीडित गुनासो गर्दै आउने गरेको उनले बताइन् । आईएमइ गरेर, बिना भर्पाइ, कुनै पनि प्रमाण नै नराखि पैसा पठाउने गरेको कारण न्यायको लागि सहजिकरण गर्न समस्या हुने गरेको उनले बताइन् ।

वैदेशिक रोजगारीमा लगाइदिने वाहानामा लागेकाहरुले पैसा, राहदानी होल्ड गरिदिएर पीडा दिने गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुर आप्रवासी स्रोत केन्द्रको मनोबैज्ञानिक परामर्शकर्ता पार्वती बिकले बताइन् । यस्ता ठगी कार्यमा संलग्नहरु स्वदेशमा नभई भारतलगायत बाहिर बस्ने गरेको कारण पनि पीडितलाई न्यायमा सहजिकरण गर्न सहज नभएको उनले बताइन् ।

सामी परियोजना मार्फत वैदेशिक रोजगारी जानु अघि आवश्यक कागजपत्रको सुरक्षण, सिप, भाषा लगायतको पुर्व तयारी बारे परामर्श दिने गरेको छ । यसैगरी फर्केकाहरु र वैदेशिक रोजगारमा रहेकाहरुको परिवारलाई बिक्तिय साक्षरता कक्षा मार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट, फजुल खर्च कटौती जस्ता कार्यमा प्रोत्साहि गर्दै आएको छ ।

यसैगरी वैदेशिक रोजगारीको क्रममा ठगीएकाहरुलाई न्यायमा पहुँच बढाउन परामर्श र सहायत प्रदान गर्ने गरेको परियोजना संयोजक थापा मगरले बताइन् । परियोजना अन्तरगत वैदेशिक रोजगारबाट फर्केकाहरुलाई वैदेशिक रोजगारको क्रममा आर्जन भएको राम्रा वा नराम्रा अनुभव आपसमा सटासाट गर्न स्वयंसेवकको रुपमा कार्य गर्न समेत समूह निर्माण गरिएको छ । मकवानपुरमा यस्ता स्वयमसेवकहरु १२ जना रहेको थापा मगरले बताइन् ।

परियोजना अन्तरगत सन् २०१९ देखि हालसम्म २३३ वटा समस्या आएको १६७ वटामा समस्यामा समाधान गरिएको परामर्शकर्ता बिकले बताइन् । यस अवधिमा २ करोड ५२ लाख ५७ हजार ४ सय रूपियां क्षतिपूर्तिको लागि सहजीकरण गरेको उनले बताइन् ।

वैदेशिक रोजगारको क्रममा बेपत्ता भएका २० जनाको खोजिको लागि आप्रवासी स्रोत केन्द्रमा सहयोगको माग भएकोमा ११ जनालाई सम्पर्कमा ल्याउन सफल भएको उनले बताइन् ।