२०८१ जेठ ४, शुक्रबार    

दुई खेल बाँकी छँदै मछिन्द्रले जित्यो लिग उपाधि

२०७८ फाल्गुन ४, बुधबार १४:५५ बजे

हेटौंडा/ मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गर्न सफल भएको छ ।

बुधबार सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मछिन्द्र लिग च्याम्पियन भएको हो । मछिन्द्रको जीतमा एकमात्र निर्णायक गोल विदेशी खेलाडी नुर्लानले दोस्रो हाफमा गरेका थिए । उनले हेटौंडेली खेलाडी सुनिल बलको क्रसमा गोल गरेका हुन् । दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । मछिन्द्रले अझै दुई खेल खेल्न बाँकी नै छ । अब दुवै खेलमा पराजित भएपनि मछिन्द्रको हातमा उपाधि खोस्न सक्दैन ।

मछिन्द्रले दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीलाई पराजित गरेसँगै लिगको उपाधि रक्षा अभियानले सार्थकता पाएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेका थिए ।

मछिन्द्रले दोस्रो पटक लिगको उपाधि जितेको हो ।  गोलरक्षक विशाल श्रेष्ठले यस प्रतियोगितामा सवैभन्दा बढी क्लिनसिट राख्ने गोलरक्षक बनिरहेका छन् ।