२०८० चैत्र १६, शुक्रबार    

छोट्टियो चित्लाङ जाने बाटो, आन्तरिक पर्यटक बढ्दै

२०७९ आश्विन २९, शनिबार १५:३९ बजे

के तपाईं काठमाडौँ उपत्यकाको भीडभाडबाट एक दुई दिनको लागि कतै बाहिर निस्कन चाहनु हुन्छ ? केही चिसो, शान्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण नजिकको स्थान जान चाहनु हुन्छ ? यदि त्यस्तो मनसुवा बनाउनु भएको छ भने, तपाईंका लागि राम्रो गन्तव्य हुन सक्छ, ‘चित्लाङ’ ।  काठमाडौँको कलङ्कीबाट २० किलोमिटरको दुरीमा रहेको चित्लाङ गाउँ यतिबेला धेरै आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको छ ।

पहिले काठमाडौँबाट दक्षिणकाली हुँदै करिब ३ घण्टाको यात्रा गरेर पुग्नुपर्ने चित्लाङ अहिले चन्द्रागिरिको मोटरबाटो खुलेपछि एक घण्टामै पुग्न सकिन्छ । छोटो बाटो र नजिकै भएकाले अहिले काठमाडौँ खाल्डोबाट निस्किनेहरूलाई चित्लाङ आन्तरिक पर्यटकको आकर्षक गन्तव्य स्थल बन्न थालेको छ ।

काठमाडौँ खाल्डोबाट बाहिर निस्कने बित्तिकै चन्द्रागिरि डाँडाको ठिक तल रहेको एउटा सानो अनि सुन्दर उपत्यका हो, चित्लाङ । 

काठमाडौँको थानकोट चेकपोष्टबाट चन्द्रागिरि हिल्स जाने बाटो हुँदै चित्लाङ पुग्न सकिन्छ । चेकपोष्टबाट १५ किलोमिटरको कच्ची बाटो पार गरेपछि चित्लाङ पुग्न सकिन्छ । चन्द्रागिरि डाँडा हुँदै चित्लाङ पुग्न चेकपोष्टबाट मात्रै ४५ मिनेटको मोटरसाइकल यात्रामा पुग्न सकिन्छ । 

चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र नेपाल भन्छन्, ‘काठमाडौँबाट पहिले दक्षिणकाली, फाखेल हुँदै करिब ३ घण्टाको यात्रा पूरा गरेर पुगिन्थ्यो चित्लाङ । अहिले चन्द्रागिरिको बाटो खुलेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको  छ ।’ नेपालका अनुसार शुक्रबार र शनिवार चित्लाङका होटल र रिसोर्टले पर्यटकलाई कोठा उपलब्ध गराउनै हम्मे हम्मे पर्ने अवस्था छ । 

रमणीय चित्लाङ

प्रकृतिले नै चित्लाङलाई सुन्दरता प्रदान गरेको छ । काठमाडौँ खाल्डोको दक्षिण–पश्चिममा रहेको चित्लाङ एउटा पुरानो र ऐतिहासिक बस्ती हो । काठमाडौँ उपत्यकामा बस्ती नबस्दै चित्लाङमा बस्ती रहेको इतिहास पाइएको चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र नेपालको भनाई छ । उनका अनुसार काठमाडौँ खाल्डोमा पानी मात्रै हुँदा पनि चित्लाङमा बस्ती थियो भन्ने इतिहास छ । त्यसैले, यो ऐतिहासिक र पुरानो बस्ती पनि हो ।’

चित्लाङको विशेषता भनेको प्राकृतिक सुन्दरता र भौगोलिक विशेषता रहेको पर्यटन व्यवसायी नेपाल बताउँछन् । काठमाडौँबाट बाहिर भएको कारण सफा, काठमाडौँभन्दा केही चिसो र चारैतिर जङ्गल भएको कारण हरियाली पनि छ । चारैतिर जङ्गल रहेको कारण सफा पानीको मुहान र बिहानै घाम झुल्किन्छ । चारैतिर जङ्गल भएको यो सानी भ्याली पनि हो, यहाँको सुन्दरता हरियाली र शान्त वातावरण नै हो । ​

चित्लाङको अर्को विशेषता भनेको जातीय विविधता तर एकीकृत समाज पनि हो । चित्लाङ भ्यालीमा आधा जनसङ्ख्या नेवार समुदायको छ । त्यसपछि तामाङ र बाहुन तथा क्षेत्रीको बाक्लो वासस्थान छ । केही स्थानमा गुरुङ समुदायको पनि वासस्थान छ । 

आकर्षणको केन्द्रः बगैँचा र भेडा फार्म

पर्यटकका लागि आकर्षणको केन्द्र हो, यहाँको नास्पातीको बगैँचा । हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालय बनाउन लागिएको स्थानमा नास्पातीको रुखै रुख छ, जहाँ वैशाखदेखि कात्तिकसम्म हरियाली देखिन्छ । यही हरियालीमा रमाउन पनि पर्यटकहरू चित्लाङ आइ पुग्छन् । 

बगैंचापछि चित्लाङको आकर्षणको अर्को केन्द्र भेडा फार्म हो । मार्खुनजिकै एउटा ठूलो क्षेत्रफलमा भेडा र बाख्रा चराउने प्रयोजनका लागि सुरक्षित गरिएको भेडा फर्म बसन्त याममा निकै सुन्दर देखिन्छ । 

फिल्म तथा म्युजिक भिडियोको सुटिङ गर्नेदेखि टिकटक बनाउनेसम्म भेडाफर्ममा पुग्ने गरेका छन् । भेडा फार्मको सुन्दरताले यहाँ पुग्ने धेरैलाई लोभ्याउने गरेको छ ।

भेडा फार्म नजिकै रहेको मार्खुमा इन्द्र सरोवर ताल छ । तालमा बोटिङ गर्न जाने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । सामान्य डुङ्गा वा मोटरबोटबाट इन्द्र सरोवर तालको रमणीय दृश्य अवलोकन गर्न पनि पर्यटकहरू चित्लाङ पुग्ने गरेका छन् । 

एक रात एक दिनको टुर

चित्लाङ जानका लागि मात्रै एक दिनको समय छुट्याए पुग्छ । काठमाडौँमा कामकाज गर्नेहरूले शुक्रबार वा सार्वजनिक विदाको अघिल्लो साँझ चित्लाङ पुग्न सक्छन् । साँझ ५ बजे काठमाडौँको कलङ्कीबाट मोटरसाइकल वा जिपमा एक घण्टाको यात्रामा चित्लाङ पुग्न सकिन्छ । 

चन्द्रागिरिबाट चित्लाङ जाने बाटो कच्ची भएको कारण चन्द्रागिरिको डाँडासम्म पुग्न केही अप्ठेरो बाटो छ । भिरमा खनेर बाटो बनाएको कारण डाँडासम्म पुग्ने बाटो उभरखाभर ग्रेभलिङले केही कठिन छ । चन्द्रागिरिबाट ६ किलोमिटर यात्रा गरेपछि डाँडामा पुगेपछि भने बाटो केही राम्रो छ । 

अहिले चित्लाङमा ५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् । पहिल्यै बुकिङ गरेर आफ्नो आर्थिक हैसियत अनुसारका रिसोर्टमा बस्न सकिन्छ । चित्लाङका रिसोर्टले आफै पुग्ने पर्यटकसँग १५ सयदेखि २५ सय रुपैयाँसम्म प्रतिव्यक्ति लिई कोठा, खाना र भोलिपल्टको ब्रेक फास्ट दिने गरेका छन् । 

आफ्नै सवारीसाधन नहुने वा आफ्नो सवारीसाधन नलैजाने पर्यटकका लागि चित्लाङका रिसोर्टले यातायात र मार्खुमा डुङ्गा सयर तथा बिहानको खानासमेतको व्यवस्था गरी प्याकेज पनि सञ्चालनमा ल्याएका छन् । त्यसका लागि ३ हजारदेखि ४ हजार रुपैयाँसम्मको प्याकेज रहेको चित्लाङ पर्यटनका पिता समेत भनेर चिनिने चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए । उनी भन्छन्, दिनभर रमणीय स्थलको भ्रमण गरी साँझ क्याम्प फायर गर्दै चिसो मौसममा रमाइलो गर्नुको बेग्लै आनन्द छ ।