२०८१ बैशाख १४, शुक्रबार    

कुखुरा व्यवसायीका लागि क्षतिपूर्ति कोष

२०७९ पौष १४, बिहीबार ०८:५७ बजे

वाग्मती प्रदेश सरकारले कुखुरा व्यवसायीका लागि क्षतिपूर्ति कोष स्थापना गरेको छ । प्रदेशले कुनै रोगका कारण यस क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गरी ५ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति कोष स्थापना गरी सञ्चालनमा ल्याएको हो । 

देशको कुल कुखुराको मासु उत्पादनमा ६९ प्रतिशत र अण्डामा ६० प्रतिशत योगदान वाग्मती प्रदेशको रहँदै आएको छ । प्रदेशका चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली र धादिङमा बढी मासु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव

डा. शरणकुमार पाण्डेले पोल्ट्रीको राजधानी नै यस प्रदेश रहेका कारण किसान र व्यवसायी दुवैको संरक्षण गर्ने गरी कोष सञ्चालनमा ल्याइएको बताए ।

‘हालको लगानी र उत्पादनअनुसार किसान र व्यवसायीले बजार मूल्य पाइरहेका छैनन् । समयसमयमा फैलिने बर्डफ्लुलगायत रोगबाट पनि किसानहरू पीडित हुने गरेका छन् । त्यसकारण प्रदेश सरकारले किसानको हितमा राखेर कोष सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘अब हामी किसानका वर्गीकरण गरी परिचयपत्र वितरण गर्नेछौं । जसको कारणले गर्दा क्षतिपूर्ति उपलब्ध गराउन, उत्पादन र वितरणलाई मध्यनजर गरी बजार व्यवस्थापनमा टेवा पुग्नेछ ।’