२०८० चैत्र १५, बिहीबार    

नवोदयमा मोडल युनाइटेड नेशन कार्यक्रम आयोजना हुँदै

२०७९ भाद्र १७, शुक्रबार १६:२७ बजे

नवोदय शिशु सदनमा यही भदौ १९ गतेदेखि २१ गतेसम्म ‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम हुने भएको छ ।

यसअघि २ पटक भर्चुअल रुपमा आयोजना भइसकेको नमूना संयुक्त राष्ट्र संघीय महासभा (मोडल युनाइटेड नेशन) यसपटक भौतिक उपस्थिति मै आयोजना गर्न लागिएको विहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझाउन अभ्यासमा आधारित भई कार्य गर्न खोजिएको विद्यालयले जनाएको छ ।

नमूना संयुक्त राष्ट्र संघीय महासभामा महासचिवको भूमिका निर्वाह गरिसकेकी छात्रा रेजा विष्टले नमूना संयुक्त राष्ट्र संघीय महासभाको तयारीका बारेमा जानकारी गराएकी थिइन् । विद्यार्थीको नेतृत्व विकास हुने, सामूहिक छलफलमा सहभागी हुनुका साथै आफ्नो विचार प्रस्तुत गर्ने क्षमताको विकास हुने अपेक्षा सहित नमूना महासभाको आयोजना गरिएको विष्टले बताइन् । नमूना महासभाको आयोजनाले विद्यार्थीमा अन्तर्राष्ट्रिय सम्बन्ध, नीति, योजनाका विषयमा पनि जानकारी हुने उनको विश्वास छ । संयुक्त राष्ट्र संघको वास्तविक संरचना र अभ्यासमा आधारित भएर नमूना अभ्यास गर्न लागिएको हो ।

तीन दिनसम्म हुने कार्यक्रममा नमूना महासभामा पूर्वनिर्धारित मुद्दामा रहेर विद्यार्थीले छलफल गर्नेछन् । नमूना महासभामा विश्व स्वास्थ्य संगठनको तर्फबाट विश्वभर आनुवंशिक विकारलाई सम्बोधन गर्ने, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को तर्फबाट विश्वव्यापी सुरक्षाका लागि उपनिवेशको कमी, आर्थिक र वित्तीय मामिला परिषद्ले बढ्दो मुद्रा स्फिति विश्वव्यापी मन्दी विरुद्धको लडाइँलाई प्रमुख मुद्दा बनाउँदा खाद्य तथा कृषि संगठनले राम्रो उपजका लागि भविष्यको कृषि प्रविधिको विकासलाई प्रमुख एजेण्डा बनाउनेछ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको तर्फबाट कार्यरत कार्यबलको तीव्र आकारलाई प्रमुख एजेण्डा बनाउने जानकारी रहेको महासचिव विष्टले जानकारी दिइन् । यसैगरी संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमको तर्फबाट जलवायु परिवर्तन र भिन्नताहरु विरुद्ध लड्न हरित उर्जाको उचाईलाई प्रमुख एजेन्डा बनाउने छ । नमूना महासभामा सहभागी हुँदा विद्यार्थीले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रसंघमा मुलुकको प्रतिनिधित्वका विषयमा बुझ्न पाउनेछन् । नमूना महासभा बैठकका साथै सामाजिक सन्ध्या तथा विविध मनोरञ्जनात्मक क्रियाकलापको पनि आयोजना हुनेछ ।

नवोदयको आयोजनामा हुन लागेको नमूना महासभामा हेटौंडा एकेडेमी विद्यालय, तुलसी मेहर विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, मकवानपुर बाल विद्या सदन, ब्रहमदिक एकेडेमीका विद्यार्थीले पनि सहभागी जनाउने छन् । नवोदय शिशु सदनका ९ र १० का सबै विद्यार्थी र ८ कक्षाका केही विद्यार्थी सहभागी हुँदैछन् भने अन्य विद्यालयबाट बढीमा ६ जना विद्यार्थीको सहभागिता रहने छ ।