२०८१ बैशाख ८, शनिबार    

हटियामा प्रदेशको सिंहदरवार बनाउने तयारी

२०७९ भाद्र २८, मंगलबार १४:४१ बजे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौंडाको हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु र संसद समेत निर्माण गर्नेगरी तयारी थालिएको बताएका छन् । आज पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री पाण्डेले ‘हटियामा ५५ बिगाहा क्षेत्रफल सरकारी जमिन छ । त्यही जग्गामा प्रदेशको सिंहदरवार बनाउने तयारी थाल्दै छौं ।’

एकै स्थानमा मन्त्रालय र संसद भवन पनि निर्माण गर्ने तयारीका साथ काम अगाडि बढेको बताए। ठुलो क्षेत्रफल भएकाले जनपथ प्रहरीका कार्यालय, ससस्त्र प्रहरी र अरु कार्यालयहरु पनि निर्माण गर्न सहज हुने भएकाले यो जग्गा प्राप्तीका लागि संघीय सरकारसंग पहलको काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

चालु आर्थिक वर्षको बजेटमा एक अर्ब ५ करोड रुपैयाँ बजेट प्रदेशका मन्त्रालयहरु निर्माण गर्नका लागि छुट्याइएको बताउँदै उनले भने–‘यो बजेट पर्याप्त होइन । तै पनि काम सुरु गर्नका लागि सहज हुन्छ । अब डिपिआर र निर्माणको काम समेत गर्नेगरी एकै पटक ठेक्का मार्फत काम गर्ने तयारीमा छौं ।’