२०८१ आश्विन २६, शनिबार    

प्रदेश गौरवका आयोजनामा आर्थिक मामिला मन्त्रीको छड्के

२०८१ भाद्र २४, सोमबार १८:३८ बजे

वाग्मती प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको परियोजनाको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थलगत अनुगमन गरेका छन् ।

प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाइरहेको हेटौंडा–६ स्थित गौरीटार रंगशाला, हेटौंडा–१० स्थित दुग्ध पाउडर उत्पादन उद्योग र प्रादेशिक कृषि थोक बजारको उनले सोमबार स्थलग अनुगमन गरेका हुन् ।

गौरीटारमा करिब २४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको फुटबल मैदान र प्याराफिटको अनुगमन गर्दै उनले करिब ४ करोड रुपैयाँ खर्चेर निर्माण भएको फुटबल मैदान असाध्यै कमजोर रहेको बताए । मन्त्री काफ्लेले त्यसलाई तत्काल पुनर्निर्माण गर्न समेत निर्देशन दिए। उनले प्याराफिट निर्माण भएको स्थानका पिल्लरमा केही समस्या देखिएको भन्दै तत्काल यस समस्याको समाधान गर्न खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराए।

फुटबल मैदान र प्याराफिट निर्माणका लागि प्रदेश सरकारले करिब ९० करोड रुपैयाँ खर्च गर्दैछ । प्रदेशले यस आयोजनालाई बहुवर्षीय योजनाको रुपमा अगाडि बढाएको छ । यसैगरी प्रदेशले करिब ४७ लाख रुपैयाँ लागतमा निर्माण गरेको दूधको पाउडर निर्माण गर्ने उद्योग निर्माण सम्पन्न भएपनि हालसम्म सञ्चालनमा रहेको छैन ।

उक्त उद्योग सञ्चालन गर्ने मोडालिटी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गर्न सकेको छैन । जसले गर्दा उद्योग पूर्णरुपमा स्थापना गरिएपनि सञ्चालन भने भएको छैन । अनुगमनको क्रममा मन्त्री काफ्लेले प्रदेशले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको परियोजना अलपत्र अवस्थामा रहेकोभन्दै तत्काल सञ्चालनको वातावरण बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘हामीले दुग्ध किसानको समस्यालाई मध्यनजर गर्दै उद्योगमा लगानी गरेका हौं । निर्माण सम्पन्न भएपछि यसरी सञ्चालन नगरी राख्नु राम्रो होइन । यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार छ’, मन्त्री काफ्लेले उद्योग सञ्चालनको मोडल तत्काल तयार पार्न कृषि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

प्रदेश सरकारले यसैवर्षबाट सञ्चालन गर्ने भनेर नीति तथा कार्यक्रम र बजेटमै घोषणा गरेको प्रादेशिक थोक तरकारी बजारको काम करिब एक महिनाभित्र सम्पन्न हुने कृषि मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा थोक तरकारी बजार निर्माण भएको हो । थोक बजारका लागि प्रदेशले करिब २८ करोड रुपैयाँ लगानी गरेको छ ।