२०८१ बैशाख १४, शुक्रबार    

परपुरुषकी श्रीमती र छोरीलाई कुटपिट गर्ने मन्त्री बिमला वलीलाई मुख्यमन्त्री केसीको संरक्षण

२०७९ असार १, बुधबार १२:०३ बजे

बुटवल / परपुरुषकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री बिमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन्।

प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन्। मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ। प्रहरी हिरासतमा रहेकी वलीलाई गए राति दाङबाट बुटवल ल्याइएको थियो। प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री केसीको निवासमा ल्याइएको हो।

अहिले बिमला वली मुख्यमन्त्री निवासमै छन्। आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। कुटपिटमा परेकी पीडित मीना भण्डारी बस्नेतले मन्त्री वली विरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी थिइन्। किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दबाब दिएका थिए।

मुख्यमन्त्रीको दबाबपछि वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याई मुख्यमन्त्री निवासमा राखिएको हो। मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङको तुलसीपुर उपमहानगरपालिका-५, आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी एकराजकी श्रीमती मीना र नाबालिक छोरीलाई कुटपिट गरेपछि मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।