२०८१ मंसिर २९, शनिबार    

मन्त्रालय र मन्त्रीको विषयले दुवै दलमा लफडा, दावीको समय सरेको सर्‍यै

२०८१ श्रावण ८, मंगलबार १०:३२ बजे

कांग्रेस–एमालेभित्र मन्त्री बन्ने सूचीको विषयमा आन्तरिक किचलो बढ्दा वाग्मती प्रदेशमा मुख्यमन्त्रीको दावी गर्ने समय सरेको सर्‍यै छ ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दावी पेश गर्न आव्हान गरेका थिए । उनले दिएको समयसीमा आज मंगलबार साँझ ५ बजेसम्म रहेको छ । तर, योवीचमा दुई दलले चारपटक मुख्यमन्त्री दावी गर्ने समय सारिसकेका छन् ।

कांग्रेस–एमाले ६४ सांसदको हस्ताक्षरसहित सोमबार विहान १० बजे प्रदेश प्रमुखकोमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्री दाबी गर्न जाने भनिएको थियो । उक्त समयमा आन्तरिक तयारीका लागि एमाले संसदीय दलका नेता जग्गनाथ थपलिया काठमाडौ गएपछि पुनः दिउँसो ४ बजेका लागि सारिएको थियो । उक्त समयमा पनि उनी हेटौंडा नआएपछि दुवै दलको सहमतिमा  मंगलबार विहान १०ः३० बजेका लागि सारिएको थियो ।

यस अवधिमा पनि दुवै दलका नेतावीच मन्त्रालय भागबण्डालाई अन्तिम टुंगो लगाउन बाँकी भएपछि आजै दिउँसो १२ः३० बजेका लागि पुनः दावी गर्न जाने समय सारिएको छ ।

स्रोतका अनुसार एमालेले दावी गर्न जाने विषयमा कुनै पनि बेला सूचना आउन सक्ने भन्दै तयारी अवस्थामा रहन सांसदहरुलाई भनेको छ । ‘अब एसएमएस नगर्ने सामाजिक सञ्जालको समूहमा म्यासज हाल्ने भनिएको छ ।’, एमाले संसदीय दलका एक कर्मचारीले भने ।

कांग्रेसका मन्त्री बन्ने दौडमा रहेका सांसद मात्र हेटौंडामा भएका कारण औपचारिक जानकारी कसैलाई पनि नगराइने बुझिएको छ । ‘केही सहमति बाँकी भएर हो । दलको नेताहरुले अन्तिमरुपमा दिएपछि दावी प्रक्रिया अगाडि बढ्छ ।’, कांग्रेस सांसद छिरिङ दार्जे लामाले भने ।