२०८१ बैशाख ८, शनिबार    

कांग्रेस मकवानपुरद्वारा १६ जनालाई कारबाही

२०७९ कार्तिक २९, मंगलबार १८:३२ बजे

नेपाली कांग्रेस मकवानपुरले १६ जनालाई कारबाही गरेको छ ।

कांग्रेस मकवानपुरको जिल्ला अनुशासन समितिले मंगलबार आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनैतिक शक्ति पार्टीका उम्मेदवारसहित अन्यलाई कारबाही गरेको हो । पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कारबाही गरिएको विषयमा जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र २ का उम्मेदवार भरत पराजुलीलाई कारवाही गरिएको जनाएको छ । पराजुली नेपाली कांग्रेसको पूर्वमहासमिति सदस्य सदस्य हुनुहुन्थ्यो । स्वतन्त्र राजनैतिक शक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यतर्फ मकवानपुर क्षेत्र नम्बर २ का अर्का उम्मेदवार धिरज विक्रम न्यौपानेलाई पनि कारवाही गरिएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । न्यौपाने कांग्रेसको क्रियाशील सदस्य रहेका थिए ।

कारबाहीमा पर्नेमा पूर्वमहासमिति सदस्यद्वय रीता खनाल पनि छिन् ।  खनाल वीपी कांग्रेसबाट समानुपातिक तर्फको उम्मेदवार रहेकी छिन् । कांग्रेसले पूर्व जिल्ला सदस्य गोपी अधिकारी, पूर्व क्षेत्रीय सभापति सुजन गोपाली, क्षेत्रीय सचिव नवराज पौडेल, भीमफेदी गाउँपालिका उपसभापति रुद्र लामा, पूर्व इकाई सभापति भीमप्रसाद घिमिरे, क्षेत्रीय प्रतिनिधि कर्णबहादुर थिङ, नेपाल तरुण दल जिल्ला उपाध्यक्ष निराजन बर्तौला, तरुण दल जिल्ला सदस्य किशोर राना र सिरित राई, तरुण दल इकाई अध्यक्ष बुद्ध लामा, नगर कार्यसमिति सदस्य सूर्य थोकर, क्रियाशिल सदस्य रमेश ढकाल, धिरजविक्रम न्यौपाने र क्षेत्रीय प्रतिनिधि मीरा सापकोटालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको कांग्रेस जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए ।

‘कारबाही परेकामध्ये प्रायः उम्मेदवार, प्रस्तावक र समर्थक रहेका छन् । पार्टीमा फर्किन, सच्चिन पटक पटक अनुरोध पनि गरेको हौं । २४ घण्टे अल्टिमेटम पनि दिएका थियौं, सार्वजनिक सूचना समेत जारी गरेका थियौं’, जिल्ला सभापति लामाले भने, ‘अन्तिम प्रयास पनि असफल भएपछि बाध्य भएर कारबाहीको निर्णयमा पुगेका हौं । अनुशासन समितिको निर्णय बमोजिम १६ जनालाई कारबाही गरेका छौं । पार्टीको नीति, नियम विपरित जाने विरुद्ध कारबाहीको शिलशिला जारी नै रहनेछ ।’

कारबाही नगर्दा गठबन्धन र कांग्रेसका उम्मेदवारलाई क्षति हुने स्थिति भएपछि कारबाही गरेको उनले बताए ।