२०८१ बैशाख २५, मंगलबार    

आजबाट दोस्रो चरण , क्वाटरफाइनल तर्फको खेल सुरु हुँदै

२०७९ जेठ २३, सोमबार १३:५१ बजे

 स्थानिय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण हेटौंडामा जारी छ । प्रतियोगितामा आजबाट दोस्रो चरण अर्थात क्वाटरफाइनल तर्फको खेल सुरु हुँदैछ ।

आज सोमबारको खेलमा अघिल्लो संस्करणको विजेता टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई उपाधी रक्षा गर्ने पहिलो जिम्मेवारी रहनेछ । नकआउट प्रतियोगितामा साबिक विजेता आर्मीलाई नेपाल एपिएफ क्लबले चुनौती प्रदान गरेको छ । रनिङशिल्ड प्रतियोगिताकाको लगातार दोस्रो पटक उपाधी जित्ने लक्ष्यलाई जिवित राख्न विभागीय टिम आर्मीलाई आजको खेल जित्नुपर्ने हुन्छ । उसो त एपिएफ पनि विभागीय टिम नै रहेकाले आजको खेललाईे विभागीय डर्बीको रुपमा पनि लिन सकिन्छ ।

एपिएफले आफ्नो पहिलो खेलमा फ्रेन्डस् क्लब काठमाडौं बिरुद्ध ३–० गोलको सहज जीत हात पार्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । अझै भन्नुपर्दा एपिएफले आफ्नो टिममा विदेशी खेलाडीलाई समेत सहभागी गराउँदा टिम झनै बलियो बनेको छ । उता सम्पुर्ण नेपाली खेलाडीले भरिपूर्ण आर्मीले अघिल्लो संस्करणको सेमिफाइनलमा सम्पूर्ण बिदेशी खेलाडी रहेको टिमलाई समेत पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

१२ टिमको सहभागिता रहेको मकवानपुर गोल्डकपको उपाधी विजेताले १५ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्डको बुलेट मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भइरहेको छ । खेल दिउँसो ४ बजेबाट सुरु हुने जनाइएको छ ।