नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।
आइतवार भएको तेस्रो टि ट्वान्टी खेलमा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।
अमेरिकाले दिएको १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले ओभरमा विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । टि ट्वान्टी करियरको छैठौं अर्धशतक बनाए लगत्तैको बलमा आसिफ जायस ड्रेल्सद्वारा आउट भए ।
कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ४४ रन बनाए । यस सिरिजमा पहिलो पटक मौका पाएका कुशलले कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि नट आउट ७४ रनको साझेदारी गरे । भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । ओपनर अनिलकुमार शाह पहिलो विकेटका रुपमा १३ रन बनाउँदै जसदिप सिंहको बलमा एलबिडब्लु आउट भए ।
यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।