२०८० चैत्र १६, शुक्रबार    

रेडियो मकवानपुर कप फुट्सलको उपाधि खेलकुद पत्रकार मञ्चलाई

२०७९ माघ २०, शुक्रबार २०:३४ बजे

हेटौंडामा सञ्चालन भएको रेडियो मकवानपुर कप मिडियास्तरीय फुट्सल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च मकवानपुरले जितेको छ ।

रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुट्सल भएको हो । ७ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा टिम टेलिभिजनलाई ४–१ गोल अन्तरले खेलकुद पत्रकार मञ्चले उपाधि जितेको हो ।

सेमीफाइनलमा टिम टेलिभिजनले रेडियो सन्देशलाई र खेलकुद पत्रकार मञ्चले रेडियो थाहा सञ्चारलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको विजेता तथा उपविजेतालाई सप्ताहव्यापी कार्यक्रमको समापनको सन्दर्भमा आइतबार पुरस्कार वितरण गरिनेछ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उनले सञ्चार क्षेत्रसहित हेटौंडाको सर्वाङ्गीण विकासमा लागिपरेको धारणा राखिन् ।

पत्रकारको क्षमता विकास लगायतका कार्यका लागि उपमहानगरपालिका सदैव तयार रहेको उनको भनाई थियो । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी पोष्टराज, चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष कपिल खड्का लगायतको आतिथ्यता रहेको थियो ।