२०८३ श्रावण १४, बिहीबार    

विपद्को पूर्वतयारीमा कैलाश गाउँपालिका

२०८२ जेठ २८, मंगलबार १८:५६ बजे

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले आफ्नो पालिका विपद्को पूर्व तयारीमा रहेको बताएका छन् ।

विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का घटना हुनसक्ने भएकोले पूर्वतयारी अवस्थामा रहेको बताएका हुन् । मंगलबार स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी अन्तरक्रिया एवम् विपद् कन्टिजेन्सी योजना निर्माण कार्यक्रममा उनले मानिसमा लाग्ने विभिन्न रोग, प्रकोप, एवम् विपद् सँगै पशुपन्छीमा लाग्न सक्ने रोगव्यादीको विषयमा सचेत र तयारीलाई अघि बढाइएको बताएका हुन् । विपद्का लागि आगामी नीति कार्यक्रमका विभिन्न कार्यक्रम समेट्ने गरी स्थानीय द्रुत प्रतिकार्य समिति मार्फत आवश्यक समन्वय र सहकार्य गरेर काम गरिरहेको उनले बताए ।

मौसम परिवर्तनको समय भएकोले मौसमी रोगको प्रकोप फैलिन सक्ने तर्फ सचेत रहन आग्रह गर्दै उनले सबै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए । अध्यक्ष मोक्तानले गाउँपालिकामा पर्याप्त औषधि रहेको र अपुग भएमा माथिल्लो निकायसँग समन्वय गर्न आग्रह गरे । कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले विपद्को अवस्थामा गाउँपालिका तयारी अवस्था रहेको बताए । रोगव्यादी मात्रै नभई बाढी पहिरोको जोखिम रहने यस क्षेत्रमा त्यसतर्फ समेत ध्यान दिनुपर्ने औंल्याए ।

गाउँपालिका पूर्व तयारीका साथ रहेको जानकारी दिँदै मल्लले अपुग आवश्यक सामाग्री खरिद गरेर तयारीमा रहने बताए । कार्यक्रममा डब्लुएचओका प्रतिनिधि डा.सविता पौडेलले स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीले गर्नुपर्ने निर्देशिका, विश्वमा घटेका विपद् तथा महामारी, नेपालमा देखिएका ५२ वटा संक्रमण रोग, सार्वजनिक महामारीका संकेत, कैलाशमा जंगली च्याउको प्रयोग र त्यसबाट हुने असर, रोग निगरानी तथा महामारी व्यवस्थापनको तयारीका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आरआरटी र आरआरसीको बारे जानकारी गराएका थिए ।

उनले तीन तहको सरकारमा स्थानीय द्रुत प्रतिकार्य समिति र टोली बनेको अवस्थामा महामारीको प्रकृति अनुसार समिति र टोलीको निर्माण हुने बताए । उनले समिति र टोलीको काम कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए । कार्यक्रममा गाउँपालिकाको वडाका स्वास्थ्य चौकीका कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।