२०८१ बैशाख २०, बिहीबार    

निमुखाकोे खाना र नानासँग जोडिएको बानियाँको नाता

२०७९ कार्तिक १८, शुक्रबार १९:३१ बजे

व्यवसायी, राजनीतिज्ञ मात्र नभई चर्चित समाजसेवीको रुपमा पनि जोडिएर आउने नाम हो ईन्द्रबहादुर बानियाँ । कठ्याङ्ग्र्रिदो जाडोमा चेपाङ, दलित तथा विपन्न बस्तीमा कम्मल बोकेर होस् या विपतिमा परी खान नपाएकाको घरमा चामलको बोरा बोकेर होस्, बानियाँ सबैका खाना र नानासँग जोडिने गरेका छन् ।

‘भुईंमान्छे’ का सेवामा समर्पित बानियाँले यसअघि खाना र नानासँग जोडिएर धेरै महत्वपूर्ण कामहरु गरेका छन् । खाद्यान्न, लत्ता कपडाका साथै अन्य आधारभूत आवश्यकता पूरा गर्न बानियाँले नगद पनि सहयोग गर्ने गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति भएपछि प्रदेश समितिमार्फत बानियाँले मकवानपुर, धादिङ र चितवनका चेपाङ, दलित तथा विपन्न समुदायका एक हजार तीन सय परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेका थिए । जसमध्ये गत वर्षको जाडोेयाममा मकवानपुरको विकट राक्सिराङ र मनहरीका मात्रै ६ सय १० परिवारले बानियाँमार्फत न्यानो कपडा सहयोग पाएका थिए । गत वर्र्षकोे भदौ महिनामा बानियाँले मकवानपुरको मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाका गरिब, विपन्न, तामाङ तथा लोपोन्मुख वनकरिया गरी ५ सय परिवारलाई दाल, चामल, चिनी, नुनलगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए ।

‘विपन्नताका कारण गाँस र कपासको समस्या हुने हरेक नागरिकलाई मेरो क्षमताले भ्याएसम्म हिजोका दिनमा सहयोग गरेँ, अबको दिनमा पनि निरन्तर गर्ने छु । म गरिब र निमुखाको सेवा गर्नकै लागि राजनीतिमा आएको हुँ ।’ नेता बानियाँ भन्छन्–‘अरु पार्टीले आफूहरु गरिबको पार्टी भन्छन् तर कांग्रेस चाहिँ गरिबलाई आवश्यक सहयोग र वातावरण दिई धनी बनाउने पार्टी हो ।’ बानियाँले आफू प्रदेशसभा सांसद भइरहँदा पाउने तलवी सुविधा पनि सधैं जनताकै काममा लगाए । कोरोना महामारी चरम अवस्थामा पुगेको बेला जनताको जीवनरक्षाको लागि सरकारलाई पनि चर्को दबाब दिएका बानियाँले आफ्नो तलवबापत प्राप्त भएको रकमबाट २०७६ चैतमा राक्सिराङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख र मनहरी गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख रुपैयाँ सहयोग गरे । सडक मानवको उद्धार गरी भरणपोषण गरिरहेको मानव सेवा आश्रमलाई पनि बानियाँले २०७८ असोजमा एक लाख रुपैयाँ दान दिए ।

कोरोना महामारीबाट विश्व नै आतंकित भइरहेका बेला पनि बानियाँमा भने जनताकै सेवा भाव जागिरह्यो । कोरोनाका कारण भएको लकडाउनका कारण ज्याला गर्न नपाई भोकभोकै घरभित्रै थुनिएकाहरुको ढोका–ढोकामा बानियाँ हाजिर भए । चामल, दाल, तेल, नुन, तरकारीलगायतका महिनौ चुलो बाल्न पुग्ने खाद्यान्न बोकेर उनी जनताको भोक मेट्न पुगे । कोरोना महामारीको समयमा २०७८ जेठ महिनामा विपन्न तथा भोकमरीमा परेका परिवारलाई खाद्यान्न वितरणमा मात्रै उनले २० लाख रुपैयाँ खर्चिए । राक्सिराङ गाउँपालिका वडा नम्बर ७ र ९ नम्बरका एक हजार परिवार चेपाङ तथा विपन्न तामाङ समुदायलाई चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए । २०७८ असार महिनामा पनि बानियाँले व्यक्तिगत खर्चमा हेटौंडा–१४ र १५ नम्बर वडामा ६ सय ८० परिवारलाई प्रति परिवार एक÷एक बोरा चामल, तेल, नुन, दाल, मस्यौरालगायतका खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।

कोरोनाकै समय २०७८ जेठमै हेटौंडा–१३ र १८ का विपन्नका घरमा पनि बानियाँ खाद्यान्न बोकेर पुगे । दुइ वडामा उनले एक सय ६० परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । बानियाँको नजर विपन्नको घरमा मात्रै छैन । विभिन्न कारण जेलमा पुगेका आफ्ना क्षेत्रका नागरिकलाई चाडपर्व मनाउनको लागि कारागारसम्मै पनि पुग्ने गरेका छन् । दशैंको बेला बानियाँ ६० हजार नगदसहित दशैं मनाउन खसी नै बोकेर भीमफेदी कारागारका कैदीबन्दीलाई भेट्न पुगेका थिए । बानियाँ प्रदेश सभापति भइसकेपछि सिन्धुलीमा हात्ती पीडित १ सय ४० परिवारलाई नगद पाँच हजार रुपैयाँसहित खाद्यान्न सहयोग पनि गरेका थिए । मकवानपुरे नेता बानियाँ हरेक दिनजसो विपन्न, गरिब र असहायहरुसँग भेटघाट गर्छन् । उनीहरुको समस्या सुन्छन् र समाधानको पहल गर्ने गर्दछन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं गृृहराज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका बानियाँ हाल नेपाली कांग्रेस बागमती प्रदेशका सभापति छन् । यसअघि मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार रहेका छन् । आफू पदमा हुँदा र नहुँदा पनि सधैं जनमुखी काम गरेको भन्दै बानियाँले आफूलाई जनताले निर्वाचित गराउनेमा विश्वस्त रहेका छन् ।