२०८१ जेठ १, मंगलबार    

अझै भेटिएनन् युवतीमाथि छुरा प्रहार गर्ने यादब

२०७८ चैत्र १३, आईतबार ०९:४७ बजे

हेटौंडा–८, कमानेस्थित स्मृति टोलमा शुक्रबार साँझ युवतीलाई छुरा प्रहार गर्ने युवक अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।

हेटौंडा–५ का २९ वर्षीय सिर्जन यादवले हेटौंडा–७ की अनिशा राईलाई छुरा प्रहर गरी फरार भएका थिए । उनले किन छुरा प्रहार गरे भन्ने अझै खुल्न सकेको छैन । युवतीलाई छुरा प्रहार गरी फरार भएका यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । युवतीमाथि छुरा प्रहार गरेर भाग्ने क्रममा मोटरसाइकल दुर्घटनाहुँदा यादव पनि घाइते भएको स्थानीयको दावी छ ।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा अनिशा काम गर्ने गर्थिन । ‘के कारणले छुरा प्रहार भयो अझै थाहा पाउन सकिएको छैन । यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं । फरार व्यक्ति पक्राउ नपरेसम्म यस विषयलाई यसै भन्ने सकिने अवस्था छैन ।’, मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने ।

उनका अनुसार घटनाका दोषी यादब भने फरार छन् । उनको खोजी कार्य तीब्र भइरहेको छ । अनिशाको परिवारले भने यादबले हत्या गर्ने मनासय राखेर शरीरको विभिन्न भागमा छुरा प्रहार गरेको बताएका छन् । उनीहरुले तत्काल यादबको खोजी गरी कानुनी दायरमा ल्याउन समेत आग्रह गरेका छन् ।

युवतीको घाँटीको पछाडि भागमा चोट लागेको र काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको हेटौंडामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।