२०८० चैत्र १६, शुक्रबार    

विदेशी फिल्म ल्याउन तीन महिनामा बाहिरियो २१ करोड ४२ लाख

२०७९ श्रावण १७, मंगलबार १४:५५ बजे

गत वैशाखदेखि असार महिनासम्म विदेशी फिल्मको अधिकार खरिद गरेबापत नेपालबाट २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक प्रगति विवरणमा उक्त कुरा उल्लेख छ । जसमा उक्त रकम बराबरको सिफारिस मन्त्रालयबाट भएको छ ।

१० करोड १ लाख रुपैयाँ बराबरको भारु र ११ करोड ४० लाख रुपैयाँ बराबरको अमेरिकी डलर विदेश पठाउन सिफारिस भएको हो । निर्माताले उक्त अवधिमा स्पाइडरम्यान, डक्टर स्ट्रेन्ज, आरआरआर, केजीएफ : च्याप्टर २, पुष्पाजस्ता फिल्म ल्याउन वितरकले उच्च रकम विदेशी कम्पनीलाई तिरेको अनुमान छ ।

विदेशिएको यो रकममा फिल्मले गर्ने कमाइ समावेश छैन । ‘केजीएफ : च्याप्टर २’ एक्लैले २० करोड ग्रस कमाइ गरेको छ । नेपाली वितरकले दक्षिण भारतीय र हलिउड कम्पनीलाई फिल्म ल्याउन महंगो मूल्य तिरिरहेका छन् । यसै साता आमिर खानको ‘लाल सिंह चड्डा’को भारतीय वितरकलाई मात्र २ करोड रुपैयाँ तिरिएको छ ।

सोही अवधिमा २८ वटा फिल्मको जाँच भएको छ । सरकारले फिल्म छायांकन र प्रदर्शन अनुमति दिएबापत ५ लाख २० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । १० वटा विज्ञापन फिल्म, १२ वटा विदेशी र डकुमेन्ट्री फिल्म छायांकन भएको छ ।