२०८१ बैशाख ४, मंगलबार    

लालकिल्ला तोड्ने चरणमा राजेश बानियाँ

२०७९ जेठ ३, मंगलबार १०:४५ बजे

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन अन्र्तगत हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँ पपुलर भोटका साथ अगाडी देखिएका छन् ।

निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले उपलब्ध गराएको पछिल्लो मत परिणामको आधारमा कांग्रेसका उम्मेदवार बानियाँले एमालेकी उम्मेदवार सुमित्रा काफ्लेलाई निकै पछि छोडेका छन् । 

विहान ८ बजे प्राप्त मतका आधारमा बानियाँले अर्का प्रतिष्पर्धी काफ्लेलाई ३ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् । बानियाँले ९ हजार ४ सय ६२ मत पाउँदा उपप्रमुखका एमालेका प्रत्यासी काफ्ले ६ हजार ३ सय ५६ मत पाएकी छन् । 

निर्बाचनको अन्तिम परिणाम आइसकेका हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा बानियाँले १ हजार ४ सय १७ मत पाउँदा काफ्लेल १ हजार १ सय ३३ मत पाएकी छन् । यस्तै वडा नम्बर २ मा पनि बानियाँले काफ्लेलाई झन्डै डबल मतले पछि पारेका छन् । यहाँ बानियाँलाई १ हजार २५ मत प्राप्त हुँदा काफ्लेले ५ सय ३५ मत प्राप्त गरेकी छन् । 

यसैगरी वडा नम्बर १८ मा बानियाँले १ हजार ३ सय २४ मत पाउँदा अर्का प्रत्यासी काफ्लेले १ हजार १ सय ७९ मत पाएकी छन् । यस्तै मत परिणाम सार्वजनिक भइसकेको अर्को वडा नम्बर १९ मा पनि बानियाँ काफ्ले भन्दा अगाडी छन् । उनले १ हजार ५ सय ६८ मत पाउँदा काफ्लेले १ हजार ३ सय ८८ मत मात्रै पाईन । 

नेकपा एमालेको गढको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा उपमेयरका उम्मेदवार बानियाँले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले निकै ठूलो मतान्तरले जितेका वडाहरुमा समेत एमालेका उम्मेदवारको भन्दा बढी मत प्राप्त गरेका छन् । 

अहिले गणना भइरहेका वडाहरु ४, ५, ६, १६, १७ मा पनि उपमेयरका उम्मेदवार राजेश बानियाँ एमालेका उम्मेदवार सुमित्रा काफ्ले भन्दा निकै अगाडी देखिएका छन् । उनले पाईरहेको अग्रताले गन्न बाँकी रहेका वडाहरु ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा निरन्तरता पाउँने देखिन्छ । यसो हुँदा एमालेको लाल किल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिका नेपाली कांग्रेसका उम्मेदवार बानियाँले तोड्ने निश्चित देखिएको छ ।