२०८१ बैशाख १६, आईतबार    

खेलाडीको बीमा, बक्सिङ खेलाडीलाई सम्मान

२०८० आश्विन १२, शुक्रबार १४:०९ बजे

मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना बीमा गरेको छ । खेलकुद विकास समिति अन्तर्गतको विभिन्न खेलसँग आबद्ध नाम उल्लेख नभएका खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना बीमा गरिएको हो ।

खेलकुदको दौरानमा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै खेलाडीहरुको बीमा गरिएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले जानकारी दिए । ‘अहिले पनि खेल्ने क्रममा धेरै खेलाडीहरु घाइते हुने गरेका छन् । घाइतेपश्चात कसले उपचार गर्ने भन्ने अन्यौलता हुने गरेको छ’, उनले भने, ‘यसै अवस्थालाई मध्यनजर गर्दै हामीले खेलाडीहरुको दुर्घटना बीमा गराएका हौं । यसबाट खेलाडी घाइते भएमा उपचारमा सघाउ पुग्ने विश्वास लिएका छौं ।’ मकवानपुरमा खेलकुदको गतिविधि बढ्दो क्रममा भएपनि खेलाडीको उपचार लगायतका सुरक्षामा भने कसैले ध्यान नदिएको उनले बताए ।

धेरै खेलाडीहरु घाइते भएपश्चात उपचार खर्च गर्न नसकेर त्यसै बस्नुपर्ने अवस्थामा रहेको उनले सुनाए ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले काजकिस्तानको अस्तान शहरमा हुन लागेको एसियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनौट भएकी मकवानपुरकी एक खेलाडीलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरेको छ । हेटौंडा १४ निवासी रोश्नी घलानलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गर्दै प्रतियोगिताको निम्ति शुभकामना दिइएको हो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, बक्सिङका प्रशिक्षक लालबहादुर पौडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता थियो ।