२०८० चैत्र १५, बिहीबार    

सरकार फेरबदल हुने सम्भावना छैन : मुख्यमन्त्री पाण्डे

२०७९ जेठ ३०, सोमबार २०:०५ बजे

वाग्मती प्रदेशमा सरकार परिवर्तन हुने चर्चा भइरहेको बेला मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने केन्द्रको निर्णयले मात्र प्रदेशको समीकरण तलमाथि हुन सक्ने बताएका छन्।  उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिक रूपमै भनिसकेकाले अहिले प्रचार गरिएजस्तो वाग्मती प्रदेश समीकरण नबदलिने दाबी गरे ।

'प्रधानमन्त्रीज्यूले आफैले प्रदेश सरकार फेरबदल हुँदैन भन्नुभएको छ । त्यसैले अहिले सरकार फेरबदलको सम्भावना छैन,' उनले भने । गत कात्तिकमा तीन दल मिलेर वाग्मतीमा गठबन्धनको नयाँ सरकार बनेको थियो । त्यतीबेला, नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व पाएको थियो । पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए।

कात्तिकमा सरकार बन्दा बाँकी रहेको समय आधा/आधा अर्थात ६/६ महिना सरकारको नेतृत्व गर्ने सहमति नेकपा एस र नेपाली कांग्रेसबीच भएको थियो । अहिले नेपाली कांग्रेसले प्रदेशको बजेट पास भएपछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ । 'सहमतिअनुसार इन्द्र बानियाँ मुख्यमन्त्री बन्नुपर्ने हो । त्यतिबेला ६,६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकै हो' कांग्रेस सांसद समेत रहेका एक प्रदेश भने,'सहमतिअनुसार अब अघि बढ्नुपर्छ । केन्द्रसँग कुराकानी भइरहेको छ ।'

ती मन्त्रीले बजेट पास भएपश्चात् नयाँ समीकरण बन्नसक्ने बताए । तर मुख्यमन्त्री पाण्डेले भने प्रदेशमा भएको सहमतिले सरकार फेरबदल गर्ने गरी अर्थ नहुने बताए।

नेकपा एसका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशबाट समीकरणको निर्णय हुन नसक्ने बताए । उनले केन्द्रीय गठबन्धनका कारण प्रदेश समीकरण बनेको भन्दै केन्द्रीय नेतृत्वले चाहेमात्र समिकरण परिवर्तन हुने जानकारी दिए ।

'यो प्रदेश सरकार माथीबाट बनेको हो , यहाँबाट बनेको होइन माथिबाट सञ्चालित छ । गठबन्धनका शीर्ष नेताहरूबीच जे सहमति बन्छ त्यसैले यो सरकार समीकरणको आगामी बाटो तय गर्छ,' उनले भने ।