२०८१ बैशाख १४, शुक्रबार    

मिटरब्याजीले भ्रष्टाचार गर्दिन भन्दै भोट माग्दैछन्ः डिना

२०७९ कार्तिक १३, आईतबार १९:३८ बजे

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मिटरब्याजमा पैसा लगाउने केही उम्मेदवार भ्रष्टाचार गर्दिन भन्दै मत मागिरहेको भन्दै आश्चर्य लागेको बताएकी छिन् । 

आइतबार हेटौंडा–८ मा भएको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले मिटरब्याजमा पैसा लगानी गरेर सर्वसाधारणलाई रुवाउनेहरुले भ्रष्टाचार गर्दिन भन्नु हास्याष्पद भएको बताइन् । ‘हामी घरघरमा शिक्षा र सहकारीको अभियान लिएर सर्वसाधारणको आर्थिक अवस्था उकास्न लागिरहँदा यहाँ मिटरब्याजमा पैसा लगाउनेहरु भ्रष्टाचार गर्दिन भन्दै जनताको पुगिरहेका छन्’, उनले भनिन्, ‘नेपालको परिवर्तन एवम् लोकतन्त्र र गणतन्त्रका लागि लड्दै गर्दा बारुद बर्साउनेहरु पनि अहिले हामीसंगै चुनाव लड्न आइरहेका छन् । 

नेपाली जनताले अब सही र गलत छुट्याउने समय आएको छ ।’ आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्न नसकेर अर्काको पार्टीको चिन्ह लिएर केही उम्मेदवार अन्तिम पटक जिताइदिनुस् भन्दै जनताको घरआगनमा आएको भन्दै उनले कटाक्ष गरिन् । 

लोकतान्त्रिक–वाम गठबन्धनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै नेपाली जनताको अवस्था परिवर्तनसंगै आर्थिक उन्नतिको बाटोमा लैजाने लक्ष्य लिएको डिनाले जानकारी दिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण आज मुलुक जोगाउन गठबन्धन बनेको उल्लेख गर्दै उनले फेरि पनि एमालेले जिते मुलुकको विकास सम्भव नभएको बताइन् ।