२०८१ जेठ ६, आईतबार    

सहज छैन कपडा उद्योग सञ्चालन

२०७९ जेठ २९, आईतबार १३:३१ बजे

चीन सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग झन्डै २२ वर्षदेखि बन्द छ । २०३२ सालमा निर्माण भएको उद्योग लगातार घाटामा गएपछि २०५७ फागुन १ बाट बन्द भएको हो । सरकार परिवर्तनसँगै उद्योग सञ्चालन गर्ने वा उत्पादन बन्द गरेर सम्पत्ति बाँडफाँट (लिक्विडेसन) को प्रक्रियामा जाने भन्नेबारे अन्योल हुँदा २२ वर्षसम्म सञ्चालन भएको उद्योग पूर्ण रूपमा बन्द हुन पुगेको हो ।

आगामी आर्थिक वर्ष ०७९/८० को बजेट संघीय संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरे । अर्थमन्त्री शर्माले बन्द कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताए पनि सहज भने देखिँदैन ।

सरकारले रुग्ण उद्योग सञ्चालन गरी यहाँबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेका व्यक्तिले लगाउने बजेटमार्फत घोषणा गरेको छ । यसअघि पनि विभिन्न समयमा उद्योग सञ्चालन गर्ने भन्दै सरकारले बजेट विनियोजन गरे पनि उद्योगमा रहेका पुराना मेसिन र कच्चा पदार्थको अभावमा रोकिँदै आएको थियो । पछिल्लो पटक सुरक्षा निकायको पोसाक उत्पादन गर्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको लगानीमा उद्योग सञ्चालन गर्ने तयारी भए पनि अघि बढ्न सकेको थिएन ।

उद्योगको भवनको स्तरोन्नति गर्नुपर्ने अवस्था छ । पुरानो मेसिनले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा मेसिन मर्मत गर्नुपर्ने वा नयाँ थप गर्नुपर्ने हेटौंडा औद्योगिक क्षेत्र लिमिटेडका प्रमुख राजेन्द्र कँडेल बताउँछन् । ‘अहिलेकै अवस्थामा उद्योग सञ्चालन गर्न सकिन्न । यदि सञ्चालन गरे उद्योग पुन: घाटामा जाने पक्का छ । त्यसैले नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ,’ उनले भने ।

उनका अनुसार उद्योगमा रहेका मेसिन मर्मत गर्न चीनबाट जनशक्ति ल्याउनुपर्छ । केही दिनअघि उद्योग सञ्चालन गर्ने विषयमा उद्योग मन्त्रालयले समितिसमेत गठन गरेको छ । समितिले उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन सम्बन्धमा आफूसँग टेलिफोनमार्फत जानकारी लिएको उनले बताए । ‘बजेट वक्तव्यमा उद्योग सञ्चालन गरिनेछ मात्रै भनिएको छ । सरकारले चलाउने हो वा निजी क्षेत्रले, मोडालिटीबाटबारे प्रस्ट छैन,’ उनले भने ।

उद्योगमा ४ सय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन् । ‘पुराना मेसिन भए पनि धेरै काम लाग्ने अवस्थामा छन्, तर प्रयोगको अवस्थाबारे मेसिनको परीक्षणपश्चात् मात्र पूर्ण जानकारी मिल्नेछ,’ उनले भने । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगको रेखदेख गरिरहेको छ । उद्योगका धेरै मेसिन अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा तथा दिनमै ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने थियो । तत्कालीन समयमा स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै उद्योगले मुलुकलाई सुती कपडामा आत्मनिर्भरसमेत बनाएको थियो । उद्योग पूर्णरूपमा सञ्चालन हुँदा करिब १२ सय कर्मचारीले रोजगारीसमेत पाएका थिए ।

पटक–पटक चर्चा मात्रै

हरेक पटक सरकार परिवर्तन भएसँगै यसको भविष्यबारे चर्चा भइरहन्छ तर हालसम्म ठोस काम भएको छैन । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उद्योग सञ्चालन गर्न ८ करोड रुपैयाँ छुट्याएको थियो । ६ करोड रुपैयाँ खर्चेर मेसिन मर्मत गरी उत्पादनको परीक्षण भए पनि आवश्यकताअनुसार कपास उपलब्ध नभएको भन्दै उद्योग सञ्चालनमा आएन ।

२०६६ कात्तिकमा उद्योगलाई दोस्रो पटक लिक्विडेसनमा लैजाने प्रक्रिया अगाडि बढाइएको थियो । २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ति सेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो । हेटौंडा औद्योगिक क्षेत्रभित्र २ सय ३६ रोपनी जग्गामा कपडा उद्योग र २ सय ५६ रोपनी जग्गामा आवास रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

उद्योगमा हाल सशस्त्र प्रहरी बलको गण नम्बर १४ को कार्यालय छ । जहाँ ३ सयभन्दा बढी सुरक्षाकर्मी बसिरहेका छन् । उद्योगको आवासीय क्षेत्रको जग्गामा भने नयाँ औद्योगिक क्षेत्र स्थापना गरिएको छ । उक्त क्षेत्रमा नयाँ ५० उद्योग स्थापना गर्न सकिने गरी सबै जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन समितिले उद्योग स्थापनाका लागि उद्योगीहरूलाई दिएको छ । कुल ३ हजार १ सय १९ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलिएकोमा हाल ११० वटा उद्योग सञ्चालनमा छन् ।