२०८१ बैशाख २८, शुक्रबार    

मकवानपुरमा एमाले विवाद समाधान, पदाधिकारीको सपथ ग्रहण

२०७८ माघ ११, मंगलबार १५:०३ बजे

हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको विवाद समाधान भएको छ । विवाद समाधान भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा भएको सपथग्रहण कार्यक्रममा एमालेका निवर्तनमान अध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी बद्रीप्रसाद लम्सालको पनि सहभागिता थियो ।

पुस २३–२४ मा भएको ११ औं जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो । सर्वसम्मतको नाममा कमिटी घोषणाा गरिएको भन्दै विरोध जनाएका तत्कालिन जिल्ला आयोजक कमिटी अध्यक्ष लम्सालले आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै सपथ ग्रहण भएको हो ।

कार्यक्रममा एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराएका थिए । अध्यक्षको सपथग्रहण पछि श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल, उपसचिवहरु हिदम लामा तथा सीता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराएका थिए ।

सपथग्रहण समारोहमा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहालसहितका नेताहरुको आतिथ्यता रहेको थियो ।