नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल गोपीले २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।
मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका दाहालले भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष बिद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।
तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेबमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको दाहालले बताए ।
'तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयनका लागि मैले मेरो तर्फबाट २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हुँ', सहयोगी केन्द्रीय सदस्य दाहालले भने, 'आफ्नै कार्यालय भवन निर्माणमा सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको हुँ । आगामी दिनमा पनि सकेको सहयोग जारी रहनेछ ।' निर्माण व्यवसायमा समेत आवद्ध दाहाल कांग्रेसको क्षेत्रीय सदस्य समेत रहेका छन् ।
भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको केन्द्रीय समिति अध्यक्ष गुरुङले बताए ।