२०८१ बैशाख १८, मंगलबार    

हेटौंडा उपमहानगरले ७१ जना कर्मचारी हटायो

२०७९ माघ १८, बुधबार १५:३७ बजे

हेटौंडा उपमहानगरले एकैपटकमा ७१ जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।

उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नै नगरी आन्तकिरुपमा नियुक्त गरिएका करार र ज्यालादारीका कर्मचारी हटाइएको हो । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको निर्देशन तथा उपमहानगरको कार्यपालिका र नगरसभाबाटै गरिएको निर्णय लागू भएसँगै उनीहरु सेवाबाट बाहिरिएका हुन् ।

उपमहानगर स्रोतका अनुसार सेवाबाट बाहिरिनेमा स्वास्थ्य शाखाका कर्मचारी धेरै रहेका छन् । इञ्जिनियरदेखि सहायक चौथोस्तरसम्मका स्वास्थ्य, योजना, प्रशसान शाखामा उनीहरुले मेयरको तोकबाट जागिर खाएका थिए ।  उपमहानगरका मेयर मीनाकुमारी लामा र  पूर्वमेयर हरिबहादुर महतको तोकबाट उनीहरुले जागिर खाएका थिए ।

उपमहानगरका विभिन्न समयमा विज्ञापन नै नगरी राजनीतिक दबाबको भरमा जागिर खाने कार्य अब रोकिने दावी गरिएको छ । ‘लोकसेवा आयोगले विज्ञापन गर्नुपर्ने भनेको पदमा कार्यरत्हरुलाई जागिरबाट हटाइएको हो ।’, उपमहानगरका एक कर्मचारीले भने । उनका अनुसार कार्यालय सहयोगी, चालक, सरसफाइ कर्मचारीको हकमा भने यो निर्णय लागूहुँदैन ।