२०८१ बैशाख १२, बुधबार    

चुनावी घोषणा पूरा गर्दै उपमहानगर : टीसीएनमा प्रसुति अस्पताल

२०७९ भाद्र २५, शनिबार १४:०५ बजे

हेटौंडा उपमहानगरपालिकाले चुनावी घोषणापत्रलाई पूरा गर्दै अगाडि बढ्ने संकेत देखाएको छ । यसअघि खानेपानी र अतिविपन्न परिवारको स्वास्थ्य वीमा लागू गरिसकेको उपमहानगरले हेटौंडा–१०, टीसीएनमा प्रसुति अस्पताल निर्माण गर्ने भएको हो ।

उपमहानगरले यसका लागि आवश्यक जग्गा नेपाल वन निगमसँग लिजमा लिने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले टिसिएन क्षेत्रको ४ विगाहा १६ कठ्ठा ११ धुर जग्गा लिजमा लिने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । हेटौंडाको मेयरमा निर्वाचित भएपछि नगरबासी समक्ष वाचा गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेकी मीनाकुमारी लामाले थुप्रै योजनाहरु अगाडि बढाएकी छन् ।

महिलालाई प्राथमिकता दिएर प्रसुति अस्पताल निर्माणको गृहकार्य गरिरहेकी लामाले जग्गा अभाव भइरहेको बताउँदै आएकी थिइन् । टीसीएनको जग्गामा अस्पताल निर्माण गर्ने गरी निर्णय गर्न बाँकी रहेको र जग्गा लिजमा लिएर दुरगामी प्रभाव पार्ने योजना निर्माण गरिने उनले बताइन् ।

यसअघि टिसिएसन क्षेत्रमा प्रसुति अस्पताल निर्माण गर्न सकिने सम्भावना बारे छलफलसमेत भएको थियो । तर, अस्पताल भवनबाटै प्रसुति अस्पताल चलाउन सकिने बारेपनि छलफल भएको थियो ।