२०८० चैत्र १६, शुक्रबार    

सवारी चालक अनुमतिपत्र : फागुन १ गतेदेखि ७० अंक प्रणाली

२०७९ माघ २५, बुधबार १७:१५ बजे

बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम,रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका न् । उनले फागुन १ गतेदेखि प्रदेशको उपत्यकाको जिल्लाहरुबाट ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली लागू गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले यातायात मन्त्रालयलाई मुख्यमन्त्रीले निर्देशन दिइसकेकोले फागुन १ गतेबाट सो अंक प्रणाली लागू हुने बताए । ‘यसअघि ट्रायल सेन्टरका सञ्चालकले नै अहिले सक्दैनौँ भनेको भएर रोकिएको थियो । अहिले उहाँहरूले नै सक्छौँ भनेपछि हामीले यसलाई लागू गर्ने तयारी गरेका छौँ’,उनले भने । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । उनले ३ पटकसम्म उक्त प्रणाली लागू गर्ने तयारी गरेका थिए  । 

तत्कालीन मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण ३ पटक रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान मुख्यमन्त्रीले कार्यान्वयनतर्फ लैजाने भएका छन् । बागमती प्रदेशको नवनियुक्त श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली कार्यान्वयन गर्ने बताए । अन्य प्रदेशमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने भन्दै मन्त्री श्रेष्ठले फागुन १ गतेदेखि बागमती प्रदेशमा पनि यो प्रणाली लागू गर्ने बताए । 

यसअघि एक महिनाअघि पुस २० गते यो प्रणाली लागू गर्ने तयारी थियो । तर, प्रदेशको तत्कालीन मुख्यमन्त्री पाण्डेले तेस्रोपटक उक्त प्रणाली कार्यान्वयन हुनबाट रोकेका थिए । बागमती प्रदेशको सरकारको तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरू पुस २० गते ७० प्रतिशत प्रणाली लागू गर्न सहमत भएकोमा मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारण लागू हुँदाहुँदै फेरि रोकिएको बताएका थिए ।  

गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको थियो । यसअघि असोज २ गते र मंसिर १८ गतेबाट उक्त प्रणाली लागू गर्ने भनिएपछि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो। चार प्रदेशमा लागू भइसकेको प्रणाली बागमतीमा मात्रै पटक–पटक हस्तक्षेप गरेर पाण्डेले रोकेको आरोप छ । 

मन्त्री दाहालले मुख्यमन्त्रीसँगको सल्लाहमा नै सुरुवातमा उक्त प्रणाली कार्यान्वयन गर्न खोजिएको भन्दै उक्त वेला हुन्छ भनेर सहमति दिएका पाण्डेले पछि पटक–पटक सो प्रणाली लागू गर्न रोकेका थिए । यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन । यो प्रणाली लागू भए प्रयोगात्मक परीक्षामा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने यातायात मन्त्रालयको दाबी छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि प्रणाली लागू नगर्न भन्दै निर्देशन दिएको थियो । प्रणाली लागू गर्ने विषयमा तत्कालीन मुख्यमन्त्री पाण्डे र मन्त्री दाहालबीच केही महिनादेखि मनमुटाव चलेको थियो ।