२०८३ कार्तिक २, आईतबार    

नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, आजै पदभार ग्रहण गर्ने

२०७९ जेठ ५, बिहीबार १६:१० बजे

मकवानपुर जिल्लाको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

जिल्लाको दशवटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहको मतगणना सम्पन्न भएपनि पहिलो चरणमा उपस्थित भएका पाँचवटा स्थानीय तहको प्रमुखले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

श्रेष्ठले इन्द्रसरोबर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी, भीमफेदी हिदम लामा, राक्सिराङ राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका प्रमुख धर्म लामिछानेलाई सपथ ग्रहण गराएका हुन् । बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने बताइएको छ ।

हेटौंडा र वाग्मती गाउँपालिकाको मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएपनि थाहा नगरपालिका, मनहरी र कैलाश गाउँपालिकाको दोस्रो चरणमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

सपथ ग्रहण समारोहमा वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय तहका प्रमुखलाई जनताको सुखदु:खको साथी बन्दै जनभावना अनुसार काम गर्न सुझाएका थिए ।