२०८१ बैशाख २०, बिहीबार    

समयमै स्थानीय चुनाव गर्न प्रधानमन्त्री सकारात्मक

२०७८ माघ २३, आईतबार १८:४९ बजे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन समयमै हुने बताएका छन् । आइतबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी ओली र सत्ताघटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकारले समयमै स्थानीय तहको निर्वाचन गर्न चोहेको भन्दै त्यसका लागि आवश्यक गर्न आग्रह गरेका थिए ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले समयमै स्थानीय तहको चुनाव गर्ने बताएको जानकारी दिए । ‘हामीले स्थानीय तहको चुनाव समयमै गर्नुपर्छ, संविधान र कानुनमा भएको व्यवस्था उल्लंघन गर्न मिल्दैन भन्यौं,’ उनले अघि भने, ‘प्रधानमन्त्रीले त्यसबारे सकारात्मक रहेको बताउनुभएको छ ।’

समसामयिक राजनीतिक विषयमा देउवा, ओली र दाहालबीच आइतबार करिब दुई घण्टा छलफल भएको छ । सरकारले यसअघि नै स्थानीय तहको चुनाव आगामी जेठ ४ गते गर्नका लागि निर्वाचन आयोगसँग परामर्श गरी समझदारी समेत बनाइसकेको छ । आयोगसँगको छलफलमा प्रधानमन्त्री देउवाले सोही मितिमा निर्वाचन हुने भन्दै तयारी अघि बढाउन आग्रह गरेका थिए ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत आइतबार कान्तिपुरसँगको संवादमा सरकारले जेठ ४ मै निर्वाचन गर्ने बताएका थिए । उनले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिँदैछ । वर्तमान कानुनअनुसार सो मिति अगावै स्थानीय निर्वाचन गर्नुपर्ने व्यवस्थाबमोजिम सरकारले जेठ ४ मा निर्वाचन गर्ने तयारी अघि बढाएको हो ।