२०८१ बैशाख १६, आईतबार    

फोटो प्रदर्शनीमा थाहाका बिष्टले खिचेको फोटो

२०८० भाद्र ३, आईतबार १५:०५ बजे

१८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा काठमाडौंको बसन्तपुरमा शनिबार आयोजित प्रदर्शनीमा थाहा नगरपालिकाका युवा फोटोग्राफर गणेश बिष्टले खिचेका तस्बिर पनि राखिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

फोटो प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्य समेत रहेका बिष्टको एकपाङ्ग्रे ठेलामा दुईजना बालबालिकालाई राखेर एकजना बालकले गुडाएको रमाईलो फोटो प्रदर्शनीमा राखिएको हो ।

बालबालिकाहरुमा खुशीयाली ल्याउन प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
‘बालबालिकाहरू घुम्न आउने, खेल्न आउने यस ठाउामा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरू समेटिएको फोटो प्रर्दशन गरिएको हो। यसले बालबालिकाहरूमा खुशीयाली ल्याउन पनि मद्दत गर्दछ ।,’ वन्तल भने ।

सिविन नेपालको समन्वयमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको प्रदर्शनीमा २५ जना फोटोग्राफरहरुले विभिन्न जिल्लामा खिचेका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरुका समावेश गरिएको ६० वटा तस्बिर राखिएको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा बाल अधिकारको संरक्षण र प्रवर्द्धनका सन्दर्भमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने तस्बिरहरु राखिएको थियो ।
फोटो प्रदर्शनीले बाल अधिकारका क्षेत्रमा भएका आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको सिविन नेपालकाु संस्थापक अध्यक्ष गौरी प्रधानले बताए ।

‘बालबालिका राष्ट्रका गौरव हुन’, भन्ने मूल नारासहित शुरु भएको प्रदर्शनीको करिब ३ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।