२०८३ जेठ १८, सोमबार    

चित्लाङ–थानकोट सडक आइतबारदेखि दुई साता बन्द

२०८३ जेठ १८, सोमबार १६:४७ बजे

 हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ ।

चित्लाङ–थानकोट मार्ग (गणेशमान मार्ग) निर्माण सुधारका क्रममा जेठ १७ गतेदेखि ३० गतेसम्म अर्थात्  १४ दिनसम्म सवारी साधनको आवागमन बन्द गरिने भएको हो । निर्माण कम्पनीबाट सडक ढलान, कालोपत्र, टेवा पर्खाल निर्माणलगायतका निर्माण कार्य गर्न सवारी साधनको आवागमन बन्द गर्न लागेको सडक डिभिजन काठमाडौंले जनाएको छ ।

थानकोट–चित्लाङ सडक निर्माण सुधार कार्य सञ्चालन भइरहेको र उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधनहरु आवतजावत गर्दा निर्माण कार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकोले सवारी आवागमन बन्द गरेर काम गर्न लागेको सडक डिभिजन काठमाडौंका इन्जिनियर पुरुषोत्तम भण्डारीले जानकारी बताए । 'कालोपत्र र ढलान गरी करिब साढे सात किमि सडक खण्डमा काम हुने छ,' उनले भने ।

टेवा पर्खाल निर्माण, कालोपत्रे र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौंतर्फको खण्डमा काम हुने छ । निर्माण कम्पनीमार्फत तीन–चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर ढलान गरिने छ । सडक स्तरोन्नतिका क्रममा काठमाडौंको पानीघट्टदेखि मकवानपुरको चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रुपमा सडक बन्द हुने भएको छ । उक्त अवधिमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकालाई सडक डिभिजन काठमाडौंले आग्रह गरेको छ ।