२०८१ कार्तिक २०, मंगलबार    

कुलेखानीमा पानीको सतह २४ घन्टामा साढे ८ मिटर बढ्यो

२०८१ असार २४, सोमबार १६:११ बजे

जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा पानीको सतह २४ घन्टामा करिब साढे ८ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले २४ घन्टामै जलाशयमा साढे ८ मिटर पानी संकलन भएको हो ।

शुक्रवार बेलुका कुलेखानी जलाशयको सतह १ हजार ४ सय ८५ दशमलब ६६ मिटर थियो भने शनिवार वबेलुका १ हजार ४ सय ९३ दशमलब ३५ मिटर पानीको सतह थियो ।
दामन, पालुङ, चित्लाङ,मार्खु,फाखेल,वज्रवराहीलगायत जलाधार क्षेत्रमा शुक्रवार रातीदेखि भारी वर्षा भएकाले २४ सै घन्टामा जलाशयको सतह साढे ८ मिटर वढेको कुलेखानी प्रथम जलविद्युत् केन्दका प्रमुख तारादत्त भट्टले भने,‘शनिबार दिउँसो प्रतिघन्टा ३०,३५ सेन्टिमिटर पानीको सतह बढेको थियो ।’ आइतबार जलाधार क्षेत्रमा वर्षा नभएकाले जलाशयमा प्रतिघन्टा १० सेन्टिमिटर पानीको सतह वढेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशयको सतह यो वर्ष १ हजार ४ सय ८३ दशमलव ८६ सेन्टिमिटरसम्म झरेको थियो । सुख्खायाममा दैनिक झण्डै एक मिटर नै पानीको सतह घट्ने गरी कुलेखानी सञ्चालन गरिएको थियो ।

विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने गरिन्छ । विगत २ दिनदेखि कुलेखानी सञ्चालनमा ल्याइएको छैन । तीन सय मिटर चौडाई र सात किलोमिटर लम्वाई रहेको कुलेखानी जलाशय वर्षायाममा भर्ने र सुख्यायाममा विद्युत् उत्पादन गर्न पानी खपत गर्ने गरिन्छ ।

कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले १० मेगावाट मात्र विद्युत उत्पादन गर्ने गरी सञ्चालन गरिएको थियो । जलाशयको पानीको सतह एक हजार ४ सय ८४ मिटरवाट तल झरेपछि १० मेगावाटमात्र विद्युत् उत्पादन गरिएको थियो ।

कुलेखानी जलाशयमा संकलन गरिएको पानी एक हजार ४ सय ८३ मिटर सतहमा झरेपछि विद्युत उत्पादनका लागि पानी प्रयोग गर्न सकिँदैन। कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । २०७२ सालको भुकम्पले जलाशयको ड्यामको केही भाग चर्केकाले सकेसम्म एक हजार ५ सय २७ मिटर भन्दाबढी पानीको संकलन गर्दा बढी जोखिम हुने प्राविधिकहरुले बताएका छन् । जसले गर्दा गत वर्ष एक हजार ५ सय २७ मिटर पानी संकलन गरिएको थियो ।

एक हजार ५ सय ३० मिटर पानी जलाशयमा संकलन हुँदा ४७ मिटर संकलित पानी विद्युत् उत्पादनमा लागि प्रयोग गर्न सकिन्छ भने एक हजार ५ सय २७ मिटरमात्र पानी संकलन भएको अवस्थामा ४४ मिटरमात्र पानी विद्युत उत्पादनका लागि उपयोग गर्न सकिन्छ ।कुलेखानी प्रथमबाट ६० दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुनेगर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् ।