२०८१ जेठ ८, मंगलबार    

अचेत अवस्थामा फेला परेका दुई जनाको मृत्यु

२०७८ फाल्गुन ७, शनिबार १८:१९ बजे

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जना र घरको भर्‍याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् ।

मध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजना र सानो थिमीमै भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९ नंखेलमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षीय शिवराम श्रीमालीको आफ्नै एकतले घरको भर्‍याङबाट लडेर मृत्यु भएको हो । लडेर घाइते भएका श्रीमालीलाई उपचारका लागि नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल थिमी लगिएकामा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

त्यस्तै मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।