२०८१ बैशाख ७, शुक्रबार    

हेटौडामा विद्युत् अनियमित, सर्वसाधारणदेखि उद्योगी व्यवसायी प्रभावित

२०८० बैशाख ९, शनिबार १६:०८ बजे

पछिल्ला केही दिनदेखि हेटौडासहित आसपासका क्षेत्रमा विद्युत् प्रवाह अनियमित बनेको छ । हेटौँडामा गर्मी बढसँगै विद्युत् आपूर्ति अनियमित भएपछि जनजीवन प्रभावित भएको छ ।

मकवानपुरको हेटौडासहित विभिन्न क्षेत्रमा अघोषित लोडसेडिङ हुँदा सर्वसाधारण आक्रान्त बनेका छन् । देशकै ठुलो औद्योगिक क्षेत्र रहेको हेटौँडामा विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगी व्यवसायी समेत प्रभावित बनेका छन् । नेपाल विद्युत् प्राधिकरणले पूर्व सूचना बिना नै ग्रामीण सहित औद्योगिक फिडरमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको गुनासो उद्योगी र स्थानीयहरूको छ ।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलका अनुसार उद्योगहरूमा दैनिक अघोषित रूपमा विद्युत् कटौती हुने गरेको छ । विगतको तुलनामा विद्युत् आपूर्तिमा केही सुधार आए पनि विद्युत् अनियमित हुने समस्या भने अझै हल नभइसकेको उनले बताए ।

हाल औद्योगिक क्षेत्रमा दिउँसोको समयमा ३/४ पटक अनियमित रूपमा विद्युत् कटौती हुने गरेको उनले बताए । अनुमानित रूपमा विभिन्न दैनिक १ घण्टा जति विद्युत् कटौती हुने गरेको उनको भनाई छ । विद्युत् कटौतीको समस्याका कारण उद्योगको उत्पादनमा समेत समस्या हुने गरेको उनले बताए । विद्युत् अनियमित बन्दा उद्योगको मेसिन र कच्चा पदार्थ बिग्रने गरेको उनले बताए । विद्युत् अनियमित हुँदा दैनिक १५/२० लाख रुपैयाँ उद्योगलाई आर्थिक घाटा हुने गरेको उनको भनाई छ ।

विगतको तुलनामा केही हदसम्म विद्युत् अनियमित हुने समस्यामा कमी आएको छ । तर, पूर्ण रूपमा हटेको भने छैन । अझै पनि अनुमानित रूपमा दिउँसोको समयमा १ घण्टा जति विद्युत् कटौती हुने गरेको छ,’ उनले भने, ‘विद्युत् अनियमित हुँदा मेसिन र कच्चा पदार्थहरू बिग्रने गरेको र दैनिक १५/२० लाख रुपैयाँ आर्थिक घाटा हुने गरेको छ ।’

गर्मी बढेसँगै विद्युत् खपतको मात्रा बढ्दा आपूर्ति अनियमित बनेको नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रका प्रमुख नरेन्द्रविर श्रेष्ठले जानकारी दिए । विद्युत् प्राधिकरणको जलविद्युत आयोजनामा पानीको मात्रा कम हुँदा विद्युत् उत्पादन घटेको र खपत अनुसार आपूर्ति हुन नसकेका कारण अनियमित बनेको उनले बताए । अघोषित रूपमा लोडसेडिङ नगरिएको र लोड लिन नसकेर फ्युज जाने समस्या रहेको उनको भनाई छ ।

‘हिजो आज गर्मीयाम सुरु भयसँगै विद्युतको खपत पनि बढेकाले लोड लिन नसकेर लाइन गएको हो,’ उनले भने, ‘गर्मी बढेकाले बढी विद्युत् खपत हुने र लोड लिने हुँदा यो समस्या बढेको हो ।’

मुख्य गरी १३२ केभीको पथलैया हेटौँडा ट्रान्समिसन लाइनको समस्याका कारण विद्युत् अनियमित भएको उनले बताए । 

वर्षा नभएसम्मका अवस्थामा विद्युत् अनियमितको समस्या कायमै रहने उनले बताए । ‘खोला सुकेकै छ । हाम्रो पावर हाउसबाट जति मात्रामा विद्युत् उत्पादन हुनुपर्ने हो त्यो हुन सकेको छैन । सबै इम्पोर्ट पावरमा नै चलिरहेको छ । यसको समाधान भनेको खोला नदीमा पानीको मात्रा वृद्धि हुनु हो । खोलामा पानीको मात्रा बढ्दा पावर हाउसहरू फुलफेजमा चल्छ । विद्युत् उत्पादन पनि बढ्छ र अहिलेको अनियमित आपूर्ति पनि बन्द हुनुको सार्थ एक्सपोर्ट गर्नसमेत सकिन्छ,’ केन्द्रका प्रमुख श्रेष्ठले भने ।