२०८१ बैशाख १५, शनिबार    

बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद फैसला

२०७८ चैत्र ११, शुक्रबार १९:४१ बजे

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ बर्ष कैद सजायको फैसला गरेको छ ।

शुक्रबार जिल्ला न्यायाधीस डिल्लीरत्न श्रेष्ठको एकल इजलासले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिए ।

अदालतले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार भट्टराईले बताए । अभियुक्त लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

लामामाथि २ असार २०७८ मा बालिकालाई हेटौंडा उपमहानगरपालिका—१० स्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप थियो । चितवनबाट हेटौंडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्‍याइदिने भन्दै झुक्याएर होटलमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । लामालाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ ।